दोदा नदीमा तीन सय मिटर जैविक तटबन्ध


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, २७ बैशाख २०८१, १९:२४ मा प्रकाशित

किशोर तामाङ
कञ्चनपुर, २७ वैशाख/
कञ्चनपुरमा जग्गा कटान रोक्न दोदा नदीमा जैविक तटबन्ध निर्माण थालिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–७, परासन उदरी भएर बग्ने दोदा नदीमा जैविक तटबन्ध निर्माण थालिएको हो ।
पुनर्वास नगरपालिका–७, परासनमा तीन सय मिटर लामो जैविक तटबन्ध निर्माणको पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले उद्घाटन गरे । आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले पछिल्लो समयमा जैविक तटबन्ध उत्तम बिकल्पको रुपमा लिइन्छ ।
परासन शिवशक्ती सामुदाय विपद् व्यवस्थापन समितिका सचिव बनवारी रानाले प्रदेश सरकारसँग ढुङ्गाको तटबन्धका लागि धेरै प्रयास गरे पनि प्रयास असफल भएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको र सितावस्ती समुदायले थोरै लगानीमा स्थानीय श्रोत साधन प्रयोग गरेर कटानि रोक्न सफल देखिएकाले परासनका स्थानीयले पनि तटबन्ध निर्माणको काम थालिएको बताए ।
समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी तीन सय मिटर बाँसको जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको मर्सिकोर नेपालका ईकोनमिक एडभाईजर सन्देश पनेरू ले बताए ।
पुनर्वास नगरपालिकाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा नेपाल समाज कल्याण संघले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत दोदा नदीमा जैविक तटवन्ध निर्माण कार्यका लागि नगरपालिकाको दुई लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख आठ हजार सात सय ३६, जनताको तटबन्धवाट छ हजार तीन सय र समुदायको तर्फबाट जनश्रमदान र एनएनएसडब्लुए मर्सिकोर नेपालको एमरेड परियोजनाको तर्फबाट एक लाख ८१ हजार चार सय ९८ रुपैयाँ लगानीमा निर्माण कार्य भईरहेको मर्सिकोर नेपालका ईकोनमिक एडभाईजर सन्देश पनेरूले बताए ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले जैविक तटबन्ध निर्माणका लागि बजेटका अभाव हुन नदिने बताए । किसानको जग्गा नदीले बगाउन थालेकोमा आफू चिन्तित भएको भन्दै उनले नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक वोरा, स्याउला, वालुवा र मानविय श्रोत) को उच्चतम प्रयोग गरेर जग्गा कटानी रोक्नका लागि जैविक तटबन्ध भरपर्दो व्यवस्था रहेको बताए ।
कार्यक्रम अन्तर्गत नगरपालिकाले दक्ष कामदारको ज्याला बापतको रकम व्यहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ । जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ जना र अदक्ष कामदार एक सय २४ जना लाग्ने अनुमान गरिएको छ ।
तटबन्ध निर्माणमा बाँस नौ सय १८ र बालुवाका बोरी ६ हजार चार सय लाग्ने अनुमान गरिएको छ । तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षारोपणको कार्य समेत गरिने बताइएको छ ।

छुटाउनुभयो कि ?