जनताको मन जित्ने नेतृत्व : बर्दगोरिया गाउँपालिकामा कर्ण कुँवरको नेतृत्वले ल्याएको परिवर्तन


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २० भाद्र २०८२, १२:३० मा प्रकाशित

प्रकाश मिश्र /बौनिया
 जनताले खोजेको विकास र परिवर्तनलाई आफ्नो नेतृत्वको माध्यमबाट साकार पार्न सम्भव छ भन्ने कुरा कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रमाणित गरेको छ । यहाँका अध्यक्ष कर्ण कुँवरले नेतृत्व सम्हालेपछि भएका कामहरूको आम नागरिकले खुलेर प्रशंसा गरेका छन्, जसले असल जनप्रतिनिधिले कसरी समाजमा सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने देखाउँछ ।
अध्यक्ष कुँवरको कार्यकालको एउटा ठुलो सफलता ’दोदोधारा अस्पताल’ को निर्माण हो । देशभर एकैसाथ शिलान्यास भएका ३९६ वटा १५ शय्याका अस्पतालमध्ये यो देशकै पहिलो बन्न पुगेको थियो । पहिलेको नेतृत्वमा कामले गति नपाए पनि कुँवर नेतृत्वमा आएपछि तोकिएको मितिभन्दा चार महिना अगावै भवन निर्माण सम्पन्न भयो । हाल २४ सै घण्टा एमबिबिएस डाक्टरसहित सेवा दिइरहेको यो अस्पतालले बर्दगोरियाका मात्र नभई छिमेकी पालिका र सुर्खेतसम्मका नागरिकलाई समेत सुविधा पुर्‍याएको छ ।
यसै गरी, शिक्षा क्षेत्रमा पनि ऐतिहासिक उपलब्धि हासिल भएको छ । लामो समयदेखि प्रयास हुँदा पनि स्थापना हुन नसकेको बर्दगोरिया कलेज कुँवरको नेतृत्वमा स्थापना भई सञ्चालनमा आएको छ । यसबाट क्याम्पस पढ्न घोडाघोडी वा लम्की जानुपर्ने बाध्यताको अन्त्य भएको छ, जसले गर्दा स्थानीय विद्यार्थी र अभिभावकहरूलाई ठुलो राहत मिलेको छ ।
भूमिहीनलाई लालपुर्जा र निःशुल्क शिक्षा, सडक, खानेपानी र उज्यालो पालिकाको अभियान
जनतासँग प्रत्यक्ष सरोकार राख्ने अर्को महत्त्वपूर्ण काम भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु हो । वडा नम्बर ३ मा लालपुर्जा वितरणको काम सुरु भइसकेको छ र यसले वर्षौँदेखि थातथलोविहीन बनेका नागरिकलाई जग्गाधनी बनाउने अभियानलाई मूर्त रूप दिएको छ ।
यसका साथै, गाउँपालिकाले कक्षा १० सम्म निःशुल्क शिक्षा लागू गरेको छ । यसअघि अभिभावकहरूबाट चर्को शुल्क लिने बाध्यता भएका सामुदायिक विद्यालयहरूमा अब विद्यार्थीहरूले निःशुल्क पढ्न पाएका छन् । विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या बढ्नुका साथै योग्य र दक्ष व्यक्तिहरूलाई प्रधानाध्यापक बनाएर शिक्षाको गुणस्तर सुधार गर्न पनि विशेष जोड दिइएको छ ।
गाउँपालिकाको विकास पूर्वाधारमा अर्को महत्त्वपूर्ण उपलब्धि सडक र खानेपानीको पहुँच विस्तार हो। अध्यक्ष कुँवरको पहलमा सडक सुधार अभियान सञ्चालन गरिएको छ । गत वर्ष २२ किलोमिटर अन्तरपालिका जोड्ने सडकको स्तर वृद्धि गरिएको थियो र यस वर्ष पनि सबै वडामा टोल–टोलका सडकहरू सुधार गर्ने लक्ष्य राखिएको छ । यसले एम्बुलेन्स र अन्य आपतकालीन सवारी साधन सहजै पुग्न नसक्ने समस्यालाई समाधान गरेको छ ।
करिब १४ करोड ५० लाखको लागतमा बन्न लागेको खानेपानी आयोजना पहिले वर्षौँसम्म अलपत्र परेको थियो । कुँवर नेतृत्वमा आएपछि राजनीतिक खिचातानीको अन्त्य गरी अहिले वडा नम्बर १, २ र ४ का ८५६ घरमा खानेपानीका धारा जडान भएका छन्, जसले वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । यसै गरी, ’उज्यालो पालिका अभियान’ अन्तर्गत सयभन्दा बढी सडक बत्ती र नौ वटा हाइमास्ट लाइट जडान गरिएको छ । यसबाट रातमा हुने चोरी, डकैती र सडक दुर्घटना न्यूनीकरण भएको छ ।
मानवीय आवश्यकतामा आधारित योजना
बर्दगोरिया गाउँपालिकाले थालेको निःशुल्क शव चिस्यान सेवा अर्को महत्त्वपूर्ण र संवेदनशील कदम हो । विशेष गरी विदेशमा रहेका युवाका आफन्तको निधन हुँदा अन्तिम संस्कारमा सहभागी हुन नपाउने बाध्यतालाई मध्यनजर गरी यो सेवा सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष कुँवरले ’अन्तिम पटक मुख भेट गराउन’ यो सेवा सुरु गरिएको बताउँदै यसले नागरिकलाई सरकार भएको अनुभूति दिलाएको छ ।
अध्यक्ष कुँवरको नेतृत्वमा भएका यी सबै कामहरूले देखाउँछ कि जब जनप्रतिनिधिमा जनभावनाको कदर गर्ने इच्छाशक्ति हुन्छ, तब विकासका कामहरूले सहजै गति लिन्छन्। ’जनताका आवश्यकतालाई मसिनो ढङ्गले केलाएर काम गरिरहेका छौँ’ भन्ने कुँवरको भनाइले उनी केवल भौतिक पूर्वाधारमा मात्र नभई जनताको भावनात्मक र सामाजिक आवश्यकतामा पनि संवेदनशील रहेको पुष्टि गर्छ ।
छुटाउनुभयो कि ?