प्रकाश मिश्र/सुखड्
नेपालको सुदूरपश्चिम, महाकाली पारीको दोधारा, बाबाथान नजिकै २०३२ साल भदौ ५ गते अत्यन्तै सामान्य र गरिब परिवारमा जन्मेर पनि शिक्षाको ज्योति फैलाउने अठोटका साथ अघि बढेका परशुराम भण्डारीको जीवन यात्रा आफैंमा एउटा प्रेरणादायी गाथा हो। चरम अभाव र संघर्षका बीचबाट उनी कसरी शिक्षा क्षेत्रमा एक दूरदर्शी व्यक्तित्वका रूपमा स्थापित भए र न्यू स्टार इ.बो. विद्यालयलाई ’नमूना र संस्कारयुक्त शिक्षा दिने विद्यालय’ बनाउने सपना देखिरहेका छन् भन्ने कुरा उनको जीवनको प्रत्येक पाइलामा झल्किन्छ।
परशुरामको बाल्यकाल अभावै अभावमा बित्यो। बुवा दमका रोगी थिए, जसले परिवारको आर्थिक भार धान्न नसकेपछि आमाले नै खेतीपाती र घर व्यवहारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएकी थिइन्। अभाव र गरिबी उनीहरूको दैनिक जीवनको अभिन्न अंग थियो । श्री लक्ष्मी नि.मा.वि., बाबाथानमा कक्षा एक उत्तीर्ण गरेपछि उनको परिवार साबिक पथरैया गाउँ पञ्चायतको मटेरा भन्ने ठाउँमा बसाइँ सर्यो। यो बसाइँसराइले पनि उनको जीवनमा थिचोमिचो, अन्याय र असाध्यै अभावको चक्रलाई निरन्तरता दियो।
तर, यी सबै प्रतिकूलताका बाबजुद परशुरामकी आमाले उनलाई विद्यालय पठाउन कहिल्यै छोडिनन्। आमाको अथक प्रयास र शिक्षाप्रतिको गहिरो विश्वासका कारण परशुरामले मटेराबाट करिब ५/६ किलोमिटर टाढा रहेको अरुणोदय माध्यमिक विद्यालय, खैरिफाटामा कक्षा दुईमा भर्ना भए। उनको औपचारिक पढाइ त्यहीँबाट निरन्तर अघि बढ्यो।
दैनिक करिब एक घण्टा पैदल हिँडेर विद्यालय पुग्ने र त्यतिकै हिँडेर घर फर्कने उनको दैनिकी थियो। त्यो समयमा अहिलेको जस्तो मोबाइल, इन्टरनेट वा बिजुली बत्तीको सुविधा थिएन। राति मट्टीतेलको टुकी बालेर पढ्नुपथ्र्यो। कपी, कलम र विद्यालय पोसाकको जोहो गर्न पनि आमालाई हम्मे–हम्मे पथ्र्यो। कहिले ज्याला मजदुरी गरेर त कहिले कटासे बजारमा लौका तरकारी बेचेर आमाले उनको पढाइको व्यवस्था मिलाइदिने गर्थिन्। निजी पठन-पाठन दिने चलन थिएन, त्यसैले उनी आफ्नो मिहिनेत र लगनशीलताले नै पढाइमा सधैं राम्रो स्थान ल्याउने विद्यार्थीको समूहमा पर्थे।
२०४६ साल मंसिर १५ गते कक्षा ७ को जिल्लास्तरीय परीक्षा थियो, त्यो पनि टीकापुरको वीरेन्द्र विद्या मन्दिरमा। परीक्षा सुरु हुनुभन्दा ठीक छ दिनअघि, परशुरामले आफ्नो बुवा गुमाए। किरियामा बसेकै अवस्थामा पनि अग्रजहरूको सहयोगमा उनले परीक्षा दिए र उत्तीर्ण पनि भए। त्यो पनि कक्षामा दोस्रो स्थान हासिल गरेर! यो घटनाले उनको दृढ संकल्प र शिक्षाप्रतिको अविचलित प्रेमलाई स्पष्ट पारेको थियो। यसैगरी, संघर्ष र लगनशीलताका साथ अघि बढ्दै उनले २०४९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे।
अविस्मरणीय घटना र जीवनको पाठ
परशुरामको बाल्यकालमा एउटा यस्तो घटना भयो, जसले उनलाई जीवनको एक महत्त्वपूर्ण पाठ सिकाएको थियो। उनी कक्षा पाँचमा पढ्थे। एक दिन साथीहरूको लहैलहैमा लागेर ट्रलीमा धानका बोरा लोड गरी कटासेदेखि सत्ती बजार जाँदै गरेको ट्र्याक्टरमाथि चढेर गए। जीवनमा पहिलोपटक गाडीमा चढेको त्यो दिन उनलाई असाध्यै रमाइलो लाग्यो। कहाँ जाँदैछन्, कतिबेला घर फर्किन्छन् भन्ने कुनै हेक्का थिएन। बस, ‘आहा! क्या मजा गाडीमा चढ्न पाइयो’ भन्ने खुसी मात्र थियो।
केही समयपछि उनीहरू सत्ती बजार पुगे। ट्र्याक्टर रोकियो, धान अनलोड हुनथाल्यो। साँझ भइसकेको थियो, रात परिसकेको थियो। भोक लागेको थियो र उनीहरू अब गन्तव्यविहीन हुन पुगे। घरमा परिवारमा ठूलो चिन्ता भयो। आमाले खाना पनि नखाई रातभरि नसुतेर बिताइन्। हिँड्दै जाँदा उनीहरू भोलिपल्ट बिहान करिब १० बजे घरमा पुगे। भोकै, थकान उस्तै र मनमा डर। आमाको हातको पिटाइ उनले जीवनमा त्यहीबेला पहिलोपटक खाएका थिए। यो घटनाले उनलाई जिम्मेवारीको बोध गरायो र बिना योजना कुनै काम गर्नुहुँदैन भन्ने शिक्षा दियो।
शिक्षण पेशामा प्रवेश र नेतृत्वको अवसर
गरिबी र अभावको जीवनयापन गर्दै जाँदा परशुराम भण्डारीले आफ्नो टोलछिमेक र गाउँघरका स–साना भाइबहिनीहरूलाई पढाउन थाले। गाउँघरमा उनलाई सबैले माया गर्थे। यसरी पढाउँदै जाँदा उनलाई केही रुपैयाँ आउन थाल्यो, जसलाई आजभोलि निजी पठन-पाठन भनिन्छ। यसबाट उनको आम्दानी पनि हुन थाल्यो।
त्यसै क्रममा लम्कीमा रहेको एउटा निजी आवासीय विद्यालय, बड सार्वजनिक विद्यालयबाट उनलाई पढाउने प्रस्ताव आयो। मासिक रू. १,००० मा उनी त्यहाँ शिक्षक हुन पुगे। त्यसपछि उनलाई के.पी. कोइराला सरको विद्यालय, लम्की सार्वजनिक विद्यालयको प्रधानाध्यापक भएर चलाउने अवसर प्राप्त भयो। मासिक रू. २,५०० तलब दिने गरी प्रस्ताव आएपछि उनी श्री लम्की सार्वजनिक विद्यालयको प्रधानाध्यापक भएर विद्यालय सञ्चालन गर्न थाले। त्यही समयमा घोडाघोडी बहुमुखी क्याम्पसका भूतपूर्व प्रमुख सर, विनोद कुमार खड्का, भर्खरै प्रवीणता प्रमाणपत्र तह सकेर उनी प्रधानाध्यापक रहेको विद्यालयमा शिक्षक बन्न जानुभएको थियो।
वि.सं. २०५० फागुनमा उनको विवाह भएको थियो। २०५२ सालमा उनी उच्च शिक्षा अध्ययनका लागि सिद्धनाथ बहुमुखी क्याम्पस, महेन्द्रनगरमा गएर मध्यवर्ती तह (गणित) विषय लिएर पढ्न थाले। त्यहीँ हाल लिटिल एन्जल्स विद्यालय, सुखडका संस्थापक/प्रधानाध्यापक श्री दयाराम चौधरीसँग उनको भेट भयो। यसरी गरिबी र अभावले गर्दा नै शिक्षक बन्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो, र यो पेसामा प्रवेश गर्न उनलाई सहज वातावरण मिल्यो। उनी एक सफल शिक्षक बन्न पुगे।
विद्यालय स्थापना र शैक्षिक नेतृत्वको विस्तार
निरन्तर प्रधानाध्यापक भएर काम गर्दै जाँदा लम्कीको एक विद्यालय, पिसल्याण्डबाट उनलाई प्रस्ताव आयो, तर उनी त्यहाँ गएनन्। वि.सं. २०५४ को अन्त्यतिर दयाराम चौधरी र सोमेन्द्र चौधरी दुवै जना उनको घर लम्कीमा वास बस्न आए र सुखडमा निजी विद्यालय खोल्नुपर्ने, आफू प्रधानाध्यापक बनेर विद्यालय चलाइदिनुपर्ने भन्दै धेरै अनुरोध गरे। धेरै आग्रहपछि उनी पनि सहमत भए र २०५५ सालमा उनको नेतृत्वमा लिटिल एन्जल्स विद्यालय सुखडमा स्थापना भयो। उनी संस्थापक प्रधानाध्यापक भएर दुई वर्षसम्म विद्यालयलाई एउटा नमूना विद्यालयको रूपमा स्थापित गरे।
त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि जानुपर्ने विचार गरेपछि विद्यालय छोडे। तर, अभिभावकले नमानेपछि उनले घोटिनिया जनकपुर चोक नजिकै पिसलाइट विद्यालय खोलेर संस्थापक/प्रधानाध्यापक भएर २०५७/०५८ सम्म चलाए। त्यो पिसलाइट विद्यालय अहिले उनका आदरणीय मित्र श्री देवेन्द्र कुमार प्रसाईं सरले सञ्चालन गर्नुभएको छ।
शिक्षामा संस्कार, नैतिकता र व्यवहारिक ज्ञानको पैरवी
जब परशुराम भण्डारी पहिलोपटक प्रधानाध्यापक भए, उनको मनमा एउटा कुरा सधैं खेलिरहन्थ्यो— अनुशासन, नैतिकता, असल कर्म, सत्य र लगनशील मिहिनेत आदिको संस्कार विद्यार्थीमा कसरी विकसित गराउने? सोही अनुरूप योजना बनाएर उनी विद्यालय सञ्चालन गर्थे। उनले विद्यालय स्तरमा आफूले पनि नैतिक शिक्षा पढेका थिए। उनको मनमा ’जीवन उपयोगी सीप र व्यवहारिक शिक्षामा जोडबल गर्नुपर्छ’ भन्ने कुराले सधैं घचघच्याइरहन्थ्यो।
परशुराम भण्डारीले विद्यालयमा लागू गरी अघि बढेका परिवर्तनका कार्यहरूले उनको शैक्षिक दर्शनलाई प्रतिविम्बित गर्छन्। ती कार्यहरू यस प्रकार छन्:
- असल संस्कारसहितको गुणस्तरीय शिक्षाः विद्यार्थीमा नैतिक मूल्य र असल आचरण विकासमा जोड।
- जीवनोपयोगी सीप तथा व्यवहारिक शिक्षाको कार्यक्रमः किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र सीपमा निपुण बनाउने।
- पुस्तकमुक्त दिवसः पाठ्यक्रम बाहिरका गतिविधि, रचनात्मक कार्य र सीप विकासमा केन्द्रित दिन।
- मानव बेचबिखन तथा लागू औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमः विद्यार्थी वर्गलाई सामाजिक विकृतिबाट सचेत गराउने।
- असल अभिभावक शिक्षा कार्यक्रमः अभिभावकलाई बालबालिकाको हेरचाह र शिक्षामा सहयोग पुर्याउन मार्गदर्शन।
- शिक्षकलाई संस्कार, शैक्षिक सामग्री निर्माण तथा प्रयोग, प्रभावकारी शिक्षण सिप सम्बन्धि तालिमको व्यवस्थाः शिक्षकको क्षमता अभिवृद्धि र शिक्षण विधिलाई आधुनिक बनाउने।
- विद्यार्थीमैत्री शिक्षाको व्यवस्थाः विद्यार्थीलाई डर र दबाबमुक्त वातावरणमा सिकाउने।
- दण्ड जरिवानाको सट्टा माया र स्नेहको प्रयोगः विद्यार्थीलाई माया र स्नेहले सिकाईमा उत्प्रेरित गर्ने।
सम्बन्ध सुधारः शिक्षा सुधारको पहिलो खुड्किलो
परशुराम भण्डारीको विश्वास छ कि सम्बन्ध सुधार भनेको शिक्षा सुधारको पहिलो पाइला हो। आजको वर्तमान परिवेशमा बालमैत्री गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त गर्न शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुधार बिना सम्भव छैन। त्यसकारण, न्यू स्टार विद्यालयमा निम्न कार्यक्रम र प्रयासहरू गरिएका छन्ः
- हृदय संवाद समयः प्रत्येक १५ दिनमा विद्यार्थी र शिक्षकबीच संवाद र भलाकुसारी कार्यक्रम गर्ने।
- शिक्षकहरूलाई नम्र, उदाहरणीय, असल संस्कारी बन्न तालिम र अभिमुखीकरणः शिक्षकलाई विद्यार्थीको आदर्श व्यक्तित्व बनाउने।
- विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षणः विद्यार्थीको क्षमता, रुचि र आवश्यकता अनुसार शिक्षण गर्ने।
- राम्रो कामको लागि प्रशंसा र पुरस्कार प्रदानः विद्यार्थीलाई सकारात्मक प्रेरणा दिन।
- बालमैत्री तथा माया र स्नेह विधिद्वारा अध्यापनः सम्बन्ध सुदृढीकरणका लागि शैक्षिक भ्रमण, वनभोज, सरसफाइ कार्य, वृक्षारोपण, स्काउट र रेडक्रसका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने।
आधुनिक शिक्षण प्रविधि र नवीन कार्यहरू
न्यू स्टार विद्यालयले आधुनिक शिक्षण प्रविधि र नवीन कार्यहरूको सफल कार्यान्वयन गरिरहेको छ। भण्डारी भन्छन्, “प्रविधि र नवप्रवर्तन शिक्षामा रङ मात्र होइन, गहिराइ पनि थप्ने साधन हुन्।” यसै मान्यताका साथ विद्यालयले निम्न आधुनिक शिक्षण र नवीन कार्यहरू गर्दै अघि बढिरहेको छः
- पुस्तकमुक्त दिवस, डिजिटल दूरी दिवस कार्यक्रमः नियमित रूपमा सञ्चालन।
- कार्यमा आधारित सिकाइ, परियोजनामा आधारित सिकाइ कार्यहरूः नियमित रूपमा अघि बढाएका।
- खेलमैत्री सिकाइः स–साना नानी–बाबुहरूलाई बालमैत्री वातावरणमा सिकाई क्रियाकलाप गराउने।
- विभिन्न क्लबहरूको गठनः उत्कृष्ट विद्यार्थी समूह, अंग्रेजी बोल्ने समूह, पठन समूह, राम्रो लेखाइ समूह आदि गठन गरी उनीहरूको काम, कर्तव्य र अधिकार प्रत्यायोजन गरी कार्यान्वयनमा लगेको।
- जीवनोपयोगी सिपमा आधारित असल संस्कारसहितको गुणस्तरीय शिक्षाः प्रदान गर्ने प्रयोग।
- शैक्षिक भिडियो, मल्टिमिडिया, स्मार्ट बोर्ड, प्रक्षेपक सामग्रीहरूको प्रयोगद्वारा सिकाई कार्यः आधुनिक प्रविधिको अधिकतम प्रयोग।
समुदाय र विद्यालयबीच सहकार्यः समाज रूपान्तरणको आधारशिला
परशुराम भण्डारीको अनुभव र अनुसन्धानमा आधारित योजनाबद्ध प्रयोगले विद्यालयमा उत्कृष्ट परिणाम ल्याइरहेका छन्। उनी भन्छन्, “विद्यालय केवल शिक्षण सिकाइको केन्द्र मात्र नभएर समाज रूपान्तरणको आधारशिला पनि हो। त्यसैले, समुदाय र विद्यालयबीच सहभागितामूलक सहकार्यको सम्बन्ध हुनु अनिवार्य हुन्छ।”
- समुदायको संस्कार, संस्कृति र आवश्यकतालाई ध्यान: विद्यालयले समुदायको संस्कार, संस्कृति, आवश्यकता र सहकार्यलाई ख्याल गरेर विभिन्न कार्यक्रमहरू निर्माण, कार्यान्वयन र सम्पन्न गर्दै आइरहेको छ।
- नियमित सूचना प्रवाह: आफ्ना गतिविधि, योजना, उपलब्धि, लागू औषध तथा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम, असल संस्कार, जीवनोपयोगी सीपमूलक कार्यहरू, बालबालिकाहरूका लागि ट्राफिक नियमसम्बन्धी कार्यक्रम, विद्यार्थी उत्प्रेरणा कार्यक्रम अभिभावक तथा समुदायलाई सञ्चार माध्यम, विभिन्न विद्युतीय खबर, सूचना बोर्ड, सामाजिक सञ्जाल आदिमार्फत नियमित रूपले जानकारी र सन्देश प्रवाह गरिरहेका छन्।
- सामुदायिक सहभागिता: विद्यालयमा हुने सांस्कृतिक कार्यक्रम, वार्षिकोत्सव, जीवन सिकाई सीप, असल अभिभावक शिक्षा, सरसफाइ अभियान कार्यक्रमहरू आयोजना गरी समुदाय र अभिभावकहरूलाई सहभागी गराउँदै आइरहेका छन्।
- सकारात्मक सन्देश प्रवाह: विद्यार्थीद्वारा आफ्ना अग्रज, अभिभावक तथा आमाबुबाहरूलाई आदर सत्कार र सम्मान गर्ने कार्यक्रमहरू गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै आइरहेका छन्।
- उत्तरदायी विद्यालय: विद्यालय सफल हुन समुदाय र अभिभावकप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताका साथ उच्च शैक्षिक गुणस्तर, स्वच्छ वातावरण, विद्यार्थी अनुशासन सुनिश्चित गर्न अभिभावक र समुदायबीच सहकार्य गर्दै अघि बढिरहेका छन्।
न्यू स्टार विद्यालयको गौरवशाली लक्ष्य र सफलताको परिभाषा
न्यू स्टार इ.बो. विद्यालयलाई गाउँकै गौरवशाली संस्था बनाउन, उनीहरूले गुणस्तरीय शिक्षा; विद्यार्थीलाई “जीवनोपयोगी सीपमा आधारित शिक्षा”, “४ जीपीए समूह” गठन, असल संस्कार, नैतिक शिक्षा आदिको प्रयोग र सफल कार्यान्वयन गर्दै अघि बढिरहेका छन्। विद्यार्थीमा राष्ट्र प्रेम, असल चरित्र, लगनशील, स्वावलम्बन, गलत काम गर्नुहुँदैन भन्ने भावनाको विकास र अग्रजहरूको सम्मान तथा सानालाई माया गर्नुपर्छ भन्ने भावनाको बीजारोपण गर्न विभिन्न विद्यार्थी अभिमुखीकरण, उत्प्रेरणा सत्र सञ्चालन गर्दै आइरहेका छन्।
बलियो भौतिक पूर्वाधार, पुस्तकालय, संगणक प्रयोगशाला, विज्ञान र गणित प्रयोगशाला आदिको व्यवस्थाका साथै नृत्य तथा सङ्गीत कक्षाको व्यवस्था पनि मिलाइएको छ। निकट भविष्यमा घोडाघोडी नगरपालिकामा उत्कृष्ट र एक आदर्श नमूना विद्यालयको रूपमा श्री न्यू स्टार इ.बो. विद्यालयलाई स्थापित गर्ने बलियो लक्ष्य लिएर उनीहरू अघि बढिसकेका छन्।
परशुराम भण्डारीको लागि सफलता भनेको यस्तो आत्मसन्तुष्टि हो, जुन सकारात्मक, सत्य र परिवर्तित समाज रूपान्तरणउन्मुख प्रयास र योगदानबाट प्राप्त हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, “सफलता भनेको समाजमा स–साना बालबालिकाहरूलाई असल संस्कारबाट सु–सज्जित गराई जीवनोपयोगी व्यवहारिक गुणस्तरीय शिक्षा प्रदान गरेर राष्ट्र र देशको लागि योगदान गर्न सक्ने दक्ष राष्ट्रभक्त नागरिक उत्पादन गर्न सक्नु हो।”
अहिले हाम्रो समाजमा बालबालिकाहरू लागू औषध, चेलीबेटी बेचबिखन, बलात्कार, चोरी–डकैती र आपराधिक घटनाबाट ग्रसित छन्। यस्ता गलत क्रियाकलापबाट बालबालिकालाई जोगाएर असल, दक्ष नागरिक बनाउने एकमात्र उपाय छ; त्यो हो विद्यालयमा “संस्कारसहितको शिक्षा” र जीवनोपयोगी सीपमा आधारित व्यवहारिक शिक्षा। जुन न्यू स्टार इ.बो. विद्यालयले वि.सं. २०८१ देखि सफल कार्यान्वयन गर्दै आइरहेको छ।
भविष्यको दृष्टान्तः “नमूना र संस्कारयुक्त शिक्षा दिने विद्यालय”
न्यू स्टार इ.बो. विद्यालयको र शिक्षाको क्षेत्रमा उनीहरूले देखेको सपना भनेको “नमूना र संस्कारयुक्त शिक्षा दिने विद्यालय” बनाउनु हो। यसका लागि केही स्पष्ट, दीर्घकालीन र प्रेरणादायी सपनाहरू प्रस्तुत गरिएको छः
- श्री न्यू स्टार इ.बो. विद्यालयको भविष्यदृष्टि: एक सशक्त, संस्कारयुक्त र सृजनशील नागरिक निर्माण गर्ने “नमूना विद्यालय”।
- संस्कारसहितको शिक्षाको सशक्त कार्यान्वयन: हरेक कक्षामा दिनको सुरुवात असल विचार, बिहानको प्रार्थना र नैतिक कुराकानीबाट। हप्तामा एक दिन “संस्कार कक्षा” र “जीवन मूल्य सत्र” सञ्चालन।
- परियोजनामा आधारित र जीवन सीपमा आधारित सिकाइ: विद्यार्थीलाई कर्म, कृतज्ञता, शिष्टाचार, आदर्श, अनुशासनजस्ता मूल्यमा प्रशिक्षित गर्ने। शिक्षक–विद्यार्थी–अभिभावक सबैलाई नैतिक मूल्यमा समेट्ने कार्यक्रम। बालमैत्री “पुस्तकमुक्त दिवस” जस्ता कार्यक्रमलाई नियमित बनाउने।
- महिनामा एकपटक “जीवन सीप शुक्रबार”: बालबालिकालाई जीवनोपयोगी सीप (जस्तैः खाना पकाउने, सरसफाइ गर्ने, कसरत गर्ने, टाई बाँध्ने, आपत्कालीन सहायता, मञ्चमा कार्यक्रम सञ्चालन आदि) सिकाउने।
- विषयमा आधारित प्रयोगात्मक कार्यशालाहरू: “गरेर सिक्ने” अवधारणालाई अघि बढाउने।
- प्रविधिको समुचित प्रयोग: “डिजिटल दूरी दिवस” मनाउने, विद्यार्थीलाई सीमित र सकारात्मक प्रविधि प्रयोग सिकाउने, संगणक शिक्षासँगसँगै विद्युतीय नैतिकता, डिजिटल शिष्टाचार सिकाउने, शिक्षकहरूलाई प्रविधि अभिमुखीकरण।
- शिक्षक–अभिभावक–समुदायबीच सहकार्य: “अभिभावक शिक्षा कार्यक्रम” नियमित आयोजना गर्ने। “सामुदायिक सेवा परियोजना” मा विद्यार्थीको सहभागिता सुनिश्चित गर्ने। खुला कक्षा, अभिभावक–विद्यार्थी–शिक्षकबीच त्रिपक्षीय संवाद कार्यक्रमको नियमितता।
- नेतृत्व र व्यक्तित्व विकास कार्यक्रम: हरेक विद्यार्थीलाई “मभित्रको नेता” भन्ने भावनाले प्रशिक्षित गर्ने। विद्यार्थी परिषद्, पूर्ण प्रणाली, वादविवाद समूह, रचनात्मक केन्द्र जस्ता माध्यमद्वारा नेतृत्व विकास। आत्मविश्वास, सञ्चार कला, प्रस्तुति शैलीमा काम गर्ने।
- बाल संरक्षण र सकारात्मक वातावरण: दादागिरीप्रति शून्य सहनशीलता। बालमैत्री शिक्षक र संरक्षकको व्यवस्था। “खुसी र सुरक्षित विद्यालय” को मूलमन्त्रमा आधारित विद्यालय।
- माध्यमिक शिक्षा परीक्षामा १००% नतिजा (४.० जीपीए सहित) को सपना: “प्रारम्भिक तयारी समूह” सञ्चालन। “लक्ष्यमा आधारित सिकाइ” विधि अपनाउने। “माध्यमिक शिक्षा परीक्षा तयारी अभिवृद्धि”, “नमुना परीक्षा”, “उत्प्रेरणा सत्र” नियमित रूपमा सञ्चालन।
यसरी, न्यू स्टार इ.बो. विद्यालयका सपनाहरूलाई थप विस्तार गर्न सकिन्छः संस्कारयुक्त शिक्षाको नेतृत्व गर्ने राष्ट्रिय स्तरको विद्यालय, नवप्रवर्तनमा उदाहरणीय सिकाई प्रयोगशाला, सामाजिक उत्तरदायित्व बोक्ने विद्यार्थी उत्पादन गर्ने संस्था, र सबैको रोजाइको मूल्यमा आधारित सिकाई केन्द्र।
परशुराम भण्डारीको संघर्षपूर्ण जीवन र शिक्षाप्रतिको अटुट प्रतिबद्धताले न्यू स्टार इ.बो. विद्यालयलाई घोडाघोडी नगरपालिकामा मात्र नभई राष्ट्रिय स्तरमै एक अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने बलियो आधार तयार पारेको छ। उनको यो सपना र अभियानले भावी पुस्ताका लागि एक उज्ज्वल भविष्य निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।













