कोल्टीमा इलाका प्रशासन कार्यालय


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३ बैशाख २०८३, ११:३५ मा प्रकाशित

बाजुरा, वैशाख ३ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । जिल्लाको हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई नागरिकता तथा जग्गालगायतको विभिन्न सरकारी कामकाज गर्न सहज हुने गरेर बुढीनन्दा नगरपालिका–२ को कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । गृह मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीद्वारा कोल्टीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गरिएको जिल्लाका प्रशासन कार्यालय बाजुराले जनाएको छ । नागरिकता तथा जग्गाको कामकाजका लागि यहाँका बासिन्दा योभन्दा पहिला एक हजार पाँच सय भाडा तिरेर सदरमुकाम मार्तडीमा जाने गर्थे । उनीहरूलाई त्यहाँ नागरिकता बनाउन जाँदा, आउँदा, होटेलमा बस्दा २० देखि २५ हजार रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता थियो । हिमाली गाउँपालिका २ र ३ को बिच्छ्याका स्थानीयलाई त निकै टाढा हुने गथ्र्यो । जिल्ला प्रशासन धेरै टाढा भएकाले जिल्ला सदरमुकाम मार्तडीमा आउन/जान नसक्ने यहाँका धेरैले जग्गासम्बन्धी काम त के समयमै नागरिकतासमेत पाउने गरेका थिएनन् । जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म ४२ किलोमिटर दुरी छ । त्यहाँदेखि हिमाली गाउँपालिकाको धुलाचौरसम्म १६ किलोमिटर दुरी छ । हिमालीदेखि बिच्छ्यासम्म करिब १८ किलोमिटर दुरी रहेको छ । यही कठिन अवस्थाको अन्त्य गर्नका लागि कोल्टीमा इलाका प्रशासन कार्यालयको माग हुँदै आएको थियो । पछिल्लो समय यहाँका जनप्रतिनिधि, स्थानीय, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाजुरालाई ज्ञापनपत्र बुझाएको र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्रचार गरेसँगै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । हिमाली गाउँपालिकाका रामबहादुर कार्कीले पहिले नागरिकता बनाउन चार दिनसम्म पैदल जानु परेको सम्झनुभयो । उहाँले भन्नुभयो, “अहिले गाडीमा पनि एक हजार पाँच सय भाडा लाग्छ । त्यहाँ बास बस्दा, खाँदा २० देखि २५ हजार रुपियाँ खर्च हुथ्यो ।” कार्कीले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि यहाँका स्थानीयको त्यो सबै समस्या हट्ने बताउनुभयो । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हालै कोल्टीमा इलाका प्रशासन तथा मालपोत र नापी सेवा केन्द्रको पनि संयुक्त रूपमा उद्घाटन गरिएको बताउनुभयो । उहाँले भन्नभुयो, “यहाँका स्थापना गरिएका ती कार्यालयबाट बुधबारदेखि नियमित सेवा प्रवाह सुरु गरिने भएको छ ।” कार्यालयको स्वीकृत दरबन्दी छ जना रहेको भए पनि हालका लागि इलाका प्रशासन कार्यालयमा चार जना कर्मचारीबाट सेवा प्रवाह गरिने भएको छ । मालपोत र नापी सेवा केन्द्रसहित समग्र सेवा प्रवाहका लागि पनि सीमित जनशक्तिबाट काम सुरु गरिने निरौलाले बताउनभुयो ।
डोटीको बिपी नगरमा इलाका प्रशासन कार्यालय
डोटी समाचारदाताका अनुसार डोटीको बडीकेदार गाउँपालिका–१ बिपी नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले एक समारोहबिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा बडीकेदार गाउँपालिका‑१ की सोविता बोहोरालाई नागरिकता प्रमाणपत्र प्रदान गरेर इलाका प्रशासन कार्यालय बिपी नगरको सेवा सुरु गरिएको हो । इलाका प्रशासन कार्यालयमार्फत सेवा दिन थालिएको डोटी जिल्लामा पहिलो पटक हो । बिपी नगरमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै डोटीका जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिका पूरै तथा बोगटान फुड्सिल गाउँपालिका १, २ र ३ का ४२ हजारभन्दा बढी स्थानीय बासिन्दा सेवाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । कार्यालय उद्घाटन कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता काफ्लेले स्थानीय नागरिकलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको स्पष्ट पार्नुभयो । इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीयस्तरमा सहज सेवा उपलब्ध हुने आशामा स्थानीय बासिन्दा रहेका छन् । उद्घाटन कार्यक्रममा डोटीको जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधिलगायत स्थानीयको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?