
हेल्लो संवाददाता
काठमाण्डौं, १७ जेठ
तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाहले पनि अमेरिकाको भिसा नपाएको विवरणसहितको रिपोर्ट २०७४ साउनमा हिमाल खबरमा छापिएको छ ।
उपचारका लागि अमेरिका जान चाहेका तत्कालीन राजा त्रिभुवनले बहुविवाह गरेकै कारण भिसा नपाएको उक्त रिपोर्टमा उल्लेख छ । सन् १९५४ को नोभेम्बरमा राजा त्रिभुवन उपचारका लागि अमेरिका जाने कार्यक्रम तय भएको थियो ।
तर, उनको योजनामा त्यसको दुई वर्षअघि नै जारी भएको अमेरिकाको अध्यागमन र राष्ट्रियता सम्बन्धी कानुनको खण्ड २१२ बाधक बनेको थियो । जसमा ‘एकसाथ दुई पत्नी वा पति भएका व्यक्ति’ लाई भिसा नदिने व्यवस्था गरिएको थियो ।
४ नोभेम्बर १९५४ को न्यूयोर्क टाइम्सले राजा त्रिभुवन अमेरिका जाने कार्यक्रममा त्यहाँको कानुन अवरोध भएपछि अमेरिकी अधिकारीहरू ‘नेपालका राजालाई अमेरिकामा स्वागत गर्नका लागि अन्य उपायबारे छलफलमा रहेको’ समाचार प्रकाशित गरेको थियो ।
उक्त विषयमा एकै महिनाभित्रै दुईवटा समाचार प्रकाशित गरेको पत्रिकाको ३० नोभेम्बर १९५४ मा प्रकाशित समाचारमा ‘एक पत्नी भएको व्यक्तिलाई मात्र प्रवेशाज्ञा दिने अमेरिकी कानुनका कारण’ राजा त्रिभुवनको अमेरिका भ्रमण स्थगित भएको पनि उल्लेख छ ।
अमेरिका जान नमिल्ने भएपछि उपचारका लागि स्विट्जरल्याण्ड गएका राजा त्रिभुवनको १३ मार्च १९५५ मा स्विट्ल्याण्डमै निधन भएको थियो । राजा स्विट्जरल्याण्ड जानुअघि उनले देशवासीको नाममा एउटा सम्बोधन समेत गरेका थिए ।