पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४, सर्दीका ३० वर्षीय सुरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
दुर्घटनामा सोही ठाउँका १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी, २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरी गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।
त्यस्तै, मध्यविन्दु नगरपालिका–१०, अरुणखोलाका २१ वर्षीय आदिश आले, १८ वर्षीय अश्विन चौधरी, २० वर्षीय निर्मल चौधरी, १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी, २६ वर्षीय घनश्याम चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरी घाइते हुनुभएको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











