दसौं राष्ट्रिय खेलकुद: पौडीमा चार नयाँ कीर्तिमान, बागमतीको अग्रता


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १०:४२ मा प्रकाशित

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन पनि चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ ।
नेपालगन्जस्थित रङ्गशालाको पौडी पोखरीमा बुधबार सम्पन्न २२ इभेन्टको खेलपछि बागमती प्रदेशले नौ स्वर्ण, चार रजत र छ कांस्य गरी १९ पदक जितेको छ ।
पदक तालिकाको दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले छ स्वर्ण, एक रजत र दुई कांस्य गरी नौ पदक जितेको छ । नेपाल आर्मी क्लबले तीन स्वर्ण, सात रजत र आठ कांस्य गरी १८ पदक जित्दा नेपाल पुलिस क्लबले दुई स्वर्ण, आठ रजत र आठ कांस्यसहित १८ पदक हात पारेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई रजत तथा कोशी प्रदेशले एक स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको दोस्रो दिन चार नयाँ कीर्तिमान कायम भएका हुन् । महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नौ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो । यसअघि उक्त विधामा डुवाना लामाको नाममा नौ मिनेट १०६.९२ सेकेन्डको कीर्तिमान रहेको थियो । लामाले सन् २०२५ मा काठमाडौँमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाउनुभएको थियो ।
पुरुष ४०० मिटर व्यक्तिगत मेड्लेमा सुदूरपश्चिमका अथर्व सिंहलले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभयो । उहाँले चार मिनेट ५६.७६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । यसअघि उहाँकै नाममा चार मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान थियो ।
त्यस्तै, पुरुष १०० मिटर ब्याकस्ट्रोकमा बागमती प्रदेशका अभिभ प्रधानले एक मिनेट १.५१ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो । यसअघि उक्त कीर्तिमान प्रारम्भ भण्डारीको नाममा थियो । भण्डारीले सन् २०२५ मा काठमाडौँमा सम्पन्न दोस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा एक मिनेट ३.३९ सेकेन्डको समय निकाल्नुभएको थियो ।
पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ, आरुष अवाले, मायोन श्रेष्ठ र कल्किन श्रेष्ठ सम्मिलित टोलीले आठ मिनेट ३२.१३ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाएको हो । यसअघि मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङ सम्मिलित टोलीका नाममा नौ मिनेट १७.६८ सेकेन्डको कीर्तिमान थियो ।

छुटाउनुभयो कि ?