गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका–१३ स्थित पाँचकिलोमा बुधबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् ।
गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक बिहान करिब ११ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य रहेको उहाँले बताउनुभयो । घाइते हुनेमा बसचालक पोखरा महानगरपालिका–३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ रहेका छन् ।
अन्य घाइतेमा गोरखा नगरपालिका–१, नयाँबजारका ३३ वर्षीय धनराज सुनार र आठ वर्षीय विजय सुनार, वडा नं. १२ का ३१ वर्षीया सुजता कुमाल र सात वर्षीया सिया कुमाल, वडा नं। ९, नयाँबजारकी २४ वर्षीया सुस्मिता सुनार तथा वडा नं. ६ का २६ वर्षीया तिजमाया घले, ६० वर्षीया कान्छी घले, ५० वर्षीय सेते गुरुङ, ६० वर्षीया सेसरी गुरुङ र चार वर्षीय साहिन खत्री रहेका छन् ।
त्यस्तै, तनहुँको भानु नगरपालिका–२, आँबोटेका ७७ वर्षीय तीर्थराज ढकाल, गोरखाको सिरानचोक गाउँपालिकाकी ४० वर्षीया मिनु गुरुङ, धार्चे गाउँपालिका–६ का ३२ वर्षीय सुनिल घले र चार वर्षीय इरोस घले पनि घाइते भएका छन् ।
दुर्घटनापछि केही समय सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको थियो । अहिले एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।











