दोलखाका १७ मतदान केन्द्र पुनरावलोकन गरिँदै


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १५:५७ मा प्रकाशित

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति दोलखाले जिल्लाका नौवटै स्थानीय तहमा रहेका १७ वटा मतदान केन्द्र पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगबाट प्राप्त ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३’ र ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ बमोजिम बसेको समितिको बैठकले प्राविधिक तथा भौगोलिक कारणले असहज भएका मतदान केन्द्रलाई पायक पर्ने स्थानमा सार्ने, गाभ्ने, टुक्र्याउने वा उचित व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको हो ।
निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीका अनुसार बैठकले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आ–आफ्नो क्षेत्रका मतदान केन्द्रबारे छलफल गरी १० दिनभित्र सिफारिस पठाउन पत्राचार गर्ने निर्णय गरेको छ ।
जिल्ला समितिको बैठकमा भएको छलफलअनुसार साँघुरो स्थान, कम्पाउन्ड वाल नभएको, एकान्त तथा खुला ठाउँमा रहेको, मतदाता सङ्ख्या अत्यधिक भएको, विद्यालय गाभिएपछि भौतिक संरचना अपर्याप्त भएको र मतदातालाई पायक नपरेका कारण ती मतदान केन्द्र पुनरावलोकन गर्नुपर्ने देखिएको सूचना अधिकारी केसीले बताउनुभयो ।
समितिको निर्णयअनुसार भीमेश्वर नगरपालिकाका तीन, वैतेश्वर गाउँपालिकाका तीन, कालिञ्चोक गाउँपालिकाका दुई, गौरीशङ्कर गाउँपालिकाका दुई, तामाकोशी गाउँपालिकाका दुई र मेलुङ गाउँपालिकाका दुई वटा मतदान केन्द्र पुनरावलोकनको सूचीमा परेका छन् । त्यस्तै, जिरी नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकाका एक–एक वटा मतदान केन्द्र पनि पुनरावलोकन गरिने भएको छ ।
पुनरावलोकन गर्नुपर्ने देखिएका केन्द्रमध्ये भीमेश्वर नगरपालिका–१ स्थित क्षमावती माध्यमिक विद्यालय, सुष्पाक्षमावतीमा केही मतदातालाई अपायक परेकाले पायक पर्ने स्थान पहिचान गर्न भनिएको छ । भीमेश्वर नगरपालिका–६ स्थित वडा कार्यालय भवन, चोथाङमा मतदाता सङ्ख्या धेरै भएकाले केन्द्र टुक्र्याउन सिफारिस गरिएको छ । यस्तै, वडा नं. ४ स्थित सेतीदेवी प्राथमिक विद्यालय, बगैँचा (जिलु) मा विद्यालय गाभिएपछि भौतिक संरचना पर्याप्त नभएकाले पायक पर्ने स्थानमा सार्न वा अन्य केन्द्रसँग गाभ्न भनिएको छ ।
वैतेश्वर गाउँपालिकाका वडा नं. १ स्थित वडा कार्यालय भवन, गैरीमुदी, वडा नं. ५ स्थित वडा कार्यालय भवन, मैनापोखरी र वडा नं. ८ स्थित वडा कार्यालय भवन, क्षेत्रपा खुला तथा कम्पाउन्डले नघेरिएका कारण उचित व्यवस्थापन गर्न वा नजिकैको पायक पर्ने स्थानमा सार्न सिफारिस गरिएको छ ।
कालिञ्चोक गाउँपालिका–१ स्थित वडा कार्यालय भवन, बेगुम्पा साँघुरो र कम्पाउन्ड वाल नभएको तथा वडा नं। ७ स्थित सूर्योदय प्राथमिक विद्यालय, भदौरे पनि साँघुरो र कम्पाउन्ड वाल नभएको हुँदा नजिकको पायक पर्ने स्थानमा सार्न भनिएको छ । भदौरेको केन्द्रलाई आवश्यकताअनुसार टुक्र्याउनसमेत सिफारिस गरिएको छ ।
गौरीशङ्कर गाउँपालिका–२ स्थित सेतीदेवी प्राथमिक विद्यालय, छापडाँडा साँघुरो र कम्पाउन्ड वाल नभएको तथा वडा नं. ५ स्थित वडा कार्यालय भवन, इविथान सडक छेउको खुला स्थानमा रहेको र मतदाता सङ्ख्याका तुलनामा साँघुरो भएकाले उपयुक्त स्थानमा सार्न लागिएको हो ।
त्यसैगरी, तामाकोशी गाउँपालिका–१ स्थित वडा कार्यालय भवन, भिरकोट साँघुरो र कम्पाउन्ड वाल नभएकाले सार्न वा टुक्र्याउन तथा वडा नं. ३ स्थित हेल्थपोस्ट भवन, जफे साँघुरो, खुला र कम्पाउन्डले नघेरिएको हुँदा उचित व्यवस्थापन गर्न वा पायक पर्ने स्थानमा सार्न भनिएको छ ।
मेलुङ गाउँपालिका–१ स्थित सत्येश्वर माध्यमिक विद्यालय, पवटीमा मतदाता सङ्ख्या धेरै भएकाले केन्द्र टुक्र्याउन तथा वडा नं. ६ स्थित त्रिभुवन माध्यमिक विद्यालय, मेलुङ ९पुरानो भवन० साँघुरो, खुला र कम्पाउन्डले नघेरिएको हुँदा उचित व्यवस्थापन गर्न वा नजिकको पायक पर्ने स्थानमा सार्न सिफारिस गरिएको छ ।
जिरी नगरपालिका–९ स्थित कालिका माध्यमिक विद्यालय, चिपचिपे एकान्तमा रहेकाले नजिकको पायक पर्ने स्थानमा सार्न, बिगु गाउँपालिका–२ स्थित देवलिङ्गेश्वर आधारभूत विद्यालय, ओराङमा मतदातालाई अपायक परेकाले केही मतदाताका लागि पायक पर्ने स्थानमा छुट्टै केन्द्र बनाउन तथा शैलुङ गाउँपालिका–६ स्थित वडा कार्यालय भवन, गोठपानी एकान्त र खुला ठाउँमा रहेकाले उचित व्यवस्थापन गर्न वा पायक पर्ने स्थानमा सार्न सम्बन्धित वडा समितिलाई पत्राचार गरिएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?