निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’ शुक्रबारदेखि प्रदर्शनमा


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १६:१३ मा प्रकाशित

अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको अभिनय रहेको चलचित्र ‘सारथी’ आगामी शुक्रबार (मङ्सिर ११ गते) देखि देशभर प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको प्रदर्शनबारे जानकारी दिन बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कलाकार तथा निर्माण टोलीले चलचित्रका विषयमा जानकारी गराएको हो ।
कार्यक्रममा कलाकार निरुता सिंह, उत्तम प्रधान, मुकुन्दकुमार श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा र गायत्री जोशी उपस्थित हुनुहुन्थ्यो ।
किम्भे प्रोडक्सनको प्रस्तुति तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रलाई कुमार गजुरेलले निर्देशन गर्नुभएको हो । चलचित्रका निर्माता रादीप श्रेष्ठ र प्रदीप रायमाझी तथा कार्यकारी निर्माता बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहनुभएको छ ।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्दकुमार श्रेष्ठ, सम्रान्त थापा, राजेन्द्र केसी, मदन थापा र तुलसी गुरुङलगायत कलाकारको अभिनय रहेको छ । यसै चलचित्रमार्फत गिरी विश्वकर्मा र गायत्री जोशीले अभिनयमा पदार्पण गर्दै हुनुहुन्छ ।
कार्यक्रममा कलाकारहरूले नेपाली चलचित्र क्षेत्रको विगत र वर्तमान अवस्थाबारे अनुभव सुनाउनुभयो । उहाँहरूले चलचित्र निर्माणका क्रममा विगतमा भोग्नुपरेको सङ्घर्ष र अहिलेको अवस्थाबारे चर्चा गर्दै प्रविधिको विकासले निर्माण प्रक्रिया सहज बनाए पनि चुनौती र सङ्घर्षका पक्ष उस्तै रहेको बताउनुभयो ।
‘दर्पण छायाँ’बाट चर्चित बनेको निरुता सिंह र उत्तम प्रधानको जोडी लामो समयपछि ‘सारथी’मार्फत पर्दामा एकसाथ देखिन लागेको हो ।
कार्यक्रममा उहाँहरूले पुराना चलचित्रका लोकप्रिय संवाद प्रस्तुत गर्दै आपसी मित्रता र चलचित्र क्षेत्रसँग जोडिएका सम्झना साझा गर्नुभयो । सो अवसरमा निरुता र उत्तमले ‘दर्पण छायाँ’को दोस्रो भाग निर्माणको तयारी भइरहेको जानकारीसमेत दिनुभयो । उहाँहरूका अनुसार चलचित्रको कथा तयार भइसके पनि निर्माणसम्बन्धी अन्य विषयमा छलफल हुन बाँकी छ ।
कलाकार तथा निर्माण टोलीले मङ्सिर ११ गतेदेखि प्रदर्शनमा आउने ‘सारथी’ हेरेर साथ र सहयोग गरिदिन दर्शकलाई आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?