दुर्गम बस्तीका नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुगुमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत रास्वपाका केन्द्रीय सदस्य प्रकाश न्यौपानेको नेतृत्वमा रहेको टोली सोरु गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीय नागरिकसँग छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।
रास्वपा मुगुका जिल्ला सभापति बिर्खबहादुर मल्लका अनुसार पार्टीको केन्द्रीय कार्यालयको निर्देशन र निर्धारित कार्यतालिकाअनुसार मङ्सिर ३ गतेदेखि जिल्लाका चारवटै स्थानीय तहमा नागरिकका समस्या तथा गुनासा सङ्कलन गर्न थालिएको हो । पहिलो चरणमा सोरु गाउँपालिकाका दुर्गम बस्तीमा पुगेर स्थानीयका समस्या सुनिएको उहाँले बताउनुभयो ।
स्थानीय नागरिकले गाउँसम्म खानेपानीको पाइपलाइन पुगे पनि पर्याप्त धारा निर्माण नहुँदा खानेपानीको अभाव भोग्नुपरेको गुनासो गरेका छन् । उनीहरूले स्वास्थ्य सेवा सहज बनाउनुपर्ने, शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने तथा सरकारी सेवा प्रवाहमा हुने भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने मागसमेत राखेका छन् ।
सोरु गाउँपालिका–३, भिई गाउँकी अझमपुरा डाँगरले राजनीतिक दलका नेताहरू गाउँमा आए पनि प्रायः प्रचारप्रसारमा मात्रै सीमित हुने गरेको बताउनुभयो । जनताको घरदैलोमै पुगेर समस्या र गुनासा सुन्ने काम पहिलोपटक भएको उल्लेख गर्दै उहाँले समस्या सुन्ने मात्र नभई समाधानका लागि पनि पहल हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा दर्जनौँ राजनीतिक दल छन् । चुनावका बेला र अन्य समयमा पनि गाउँमा आएर पार्टीको प्रचारप्रसार गर्छन् तर दुर्गमका नागरिकका समस्या र गुनासा सुन्दैनन् । रास्वपाले गुनासा सुन्ने कामसँगै समाधानका लागि पनि पहल गर्नुपर्छ ।”
जिल्ला सभापति मल्लका अनुसार अभियानअन्तर्गत खत्याड गाउँपालिकाको रातापानीमा मङ्सिर ८ गते र माथिचौरमा ९ गते नागरिकका गुनासा सुन्ने कार्यक्रम तय गरिएको थियो । त्यस्तै, छायानाथ रारा नगरपालिकामा मङ्सिर १४ र १५ गते तथा मुगुमकार्मारोङ गाउँपालिकामा मङ्सिर १६ र १७ गते स्थानीयसँग छलफल गर्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो ।
रास्वपाका केन्द्रीय सदस्य न्यौपानेले ‘हामी आउँदै छौँ’ अभियान देशभर सञ्चालन भइरहेको बताउनुभयो । मुगुका नागरिकका समस्या तथा गुनासा सङ्कलन गर्ने जिम्मेवारी आफूलाई दिइएको उल्लेख गर्दै उहाँले स्थानीयका समस्या समेटेर प्रतिवेदन तयार गरी पार्टीको केन्द्रीय कार्यालयमा बुझाइने बताउनुभयो ।
स्थानीयका समस्या राष्ट्रिय स्तरमा उठाउन प्रतिनिधिसभामार्फत आवाज उठाउनुका साथै समाधानका लागि सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसँग समन्वय र पहल गरिने उहाँले जानकारी दिनुभयो ।
अभियानमा केन्द्रीय सदस्य न्यौपाने, कर्णाली प्रदेश सदस्य मोहन सुनार, जिल्ला सभापति मल्ल, उपसभापति राजेन्द्र शाही, केन्द्रीय प्रतिनिधि भुवन टमटा, खेलकुद विभागका सदस्य विवेक शाहीसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य सहभागी छन् ।











