धार्मिक पर्यटक आकर्षित गर्न कूटनीतिक पहल


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १३:१२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय नागरिकलाई नयाँ दिल्लीबाट नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । हिमालयको काखमा रहेको मुक्तिनाथदेखि पशुपतिनाथ, जानकी मन्दिर, जीवितदेवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थलसम्मको चर्चा गर्दै उहाँले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदालाई भारतीय पर्यटकमाझ चिनाउनुभयो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, “मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाल–भारतबिचको उच्चस्तरीय सम्बन्धले पर्यटन र विकास साझेदारीलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो । एससिओ फोरमका क्रममा विभिन्न देशका समकक्षीसँग पर्यटन प्रवर्धन र सांस्कृतिक आदानप्रदानबारे छलफल भएको उल्लेख गर्दै उहाँले हिमाली सभ्यता, संस्कृति र पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्यका लागि आग्रह गरिएको बताउनुभयो ।
प्रधानमन्त्रीले आह्वान गरेजस्तै पर्यटकलाई धार्मिकस्थलमा लैजाने वातावरण बनाउन निजी क्षेत्रसहित तीनै तहका सरकारको भूमिका सकारात्मक हुनुपर्छ ।
“हिमाली सभ्यता, संस्कृति र पर्यावरणको संरक्षणमा नेपालले लिइरहेको वैश्विक नेतृत्वमा अन्तर्राष्ट्रिय समर्थन र सहकार्यका लागि आग्रह गर्‍यौं” मन्त्री पौडेलले भन्नुभयो, “हिमाल अब नेपालको मात्र नभइ समग्र विश्वकै जलवायु सम्पदा हो भन्ने विषयमा सहभागी राष्ट्रहरूलाई आश्वस्त पार्न सफल भएका छौँ ।”
भारतसँगको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई पर्यटनको आर्थिक अवसरमा बदल्ने प्रयासस्वरूप प्रधानमन्त्री शाहले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिएसँगै पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् । खासगरी प्रधानमन्त्रीको उक्त निमन्त्रणालाई नेपाली पर्यटन व्यवसायीले भारतीय पर्यटक आकर्षित गर्ने अवसरका रूपमा हेरेको बताएका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले यस कदमले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएकाले लगानी गर्नसमेत थप प्रेरित गरेको बताउनुभयो । “यस पटक भएको कदमले पर्यटन विकासको क्षेत्रमा सकारात्मक छ” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले आह्वान गरेजस्तै पर्यटकलाई धार्मिकस्थलमा लैजाने वातावरण बनाउन निजी क्षेत्रसहित तीनै तहका सरकारको भूमिका सकारात्मक हुनुपर्छ ।”
खासगरी एक स्थानमा बिहान पुगेर बेलुकी फर्किनुभन्दा त्यस स्थानमै बसाइ लम्ब्याउने वातावरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । काठमाडौँ–भैरहवा–लखनउको एकतर्फी बी ३४५ हवाईमार्गलाई दुईतर्फी बनाउने नेपाल भारतबिच भएको सहमतिले थप आशा बढाएको पाण्डेको भनाइ छ ।
विशेषगरी धार्मिक पर्यटकलाई लक्षित गरी थप विकासोन्मुख कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । “पछिल्लो समय युवा पुस्तामा पदयात्राप्रति रूचि बढेको छ । अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा अधिकांश भारतीय पर्यटकहरू आउने गरेका छन्” उहाँले थप्नुभयो, “घुमघाम गर्ने, हाइकिङ गर्ने, रमाइलो गर्नका लागि भारतीय समुदायहरूको लागि डेस्टिनेसन नेपाल हुन सक्छ ।”
उहाँका अनुसार भारतीय पर्यटकहरू वर्षमा चार पटकसम्म नेपाल आउन सक्छन् । पर्यटन व्यवसायी बासुदेव बरालले नेपालमा भारतीय धार्मिक पर्यटकको आगमन निरन्तर बढ्दै गए पनि उनीहरूले नेपाल प्रवेशदेखि गन्तव्यसम्म पुग्दा विभिन्न सास्ती खेप्नुपरेको बताउनुभयो ।
उहाँका अनुसार काकडभिट्टादेखि नेपालगञ्जसम्मका विभिन्न सहरमा खुलेका होटलमा भारतीय पर्यटकको उपस्थिति उल्लेख्य छ । पछिल्लो समय भारतीय धार्मिक पर्यटकको आगमन अत्यन्तै राम्रो भए पनि सरकारले पर्यटनमैत्री वातावरण बनाउन नसकेको उहाँको भनाइ छ ।
“पर्यटकलाई सहज बनाउने भनिन्छ, तर व्यवहारमा उनीहरूले दुःख पाइरहेका छन्” बरालले भन्नुभयो, “प्रहरीको पटक–पटकको चेकजाँच र अनावश्यक झन्झटले पर्यटकलाई निरुत्साहित गरिरहेको छ ।”
खासगरी राजमार्गसँग जोडिएका स्थानीय तहले विभिन्न बहानामा प्रवेश शुल्क भन्दै झन्झट र हैरानि दिएको उदृत गर्दै पर्यटकसँग गर्ने व्यवहारमा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रहरीको पटक–पटकको चेकजाँच र अनावश्यक झन्झटले पर्यटकलाई निरुत्साहित गरिरहेको छ ।
भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार रुपियाँभन्दा बढी नगद ल्याउन नपाउने व्यवस्थाले उनीहरूको खर्च गर्ने क्षमतामा समेत असर परेको बरालको भनाइ छ । पर्यटकको आगमन बढे पनि उनीहरूले पर्याप्त खर्च गर्न नसक्दा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको उहाँले बताउनुभयो ।
यसैक्रममा नेपालमा सन् २०२६ को अक्टोबर महिनामा एक लाख ३२ हजार आठसय १४ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक एवम् सूचना अधिकारी सन्तोष पन्तले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष यही अवधिमा एक लाख २८ हजार ४४३ पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल बोर्डको तथ्याङ्क अनुसार अक्टोबर महिनामा सार्क मुलुकबाट २४ हजार ५३, एसिया (सार्क बाहेक) बाट २७ हजार ४०, युरोपबाट ३९ हजार ८७७, अमेरिकाबाट २१ हजार २७०, ओसिनियाबाट १० हजार १४३, मध्य पूर्वबाट दुई हजार ३३५, अफ्रिकाबाट ४२१ र अन्य देशहरूबाट ७ हजार ६७५ जना गरी कुल एक लाख ३२ हजार १४ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३ जना, फेब्रुअरीमा १ लाख ५ हजार ४४१ जना, मार्चमा १ लाख २० हजार ५१६, अप्रिलमा १ लाख ७ हजार ९३४, मे महिनामा १ लाख २ हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाइमा ७१ हजार ७७५, अगस्टमा ८५ हजार ४४४ र सेप्टेम्बर महिनामा ८८ हजार २४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार नेपालमा पर्यटकको औसत बसाइ दर १६.३४ दिन रहेको छ भने प्रतिदिन पर्यटकले ३३.०८ अमेरिकी डलर खर्च गर्ने गरेका छन् । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा विशेष गरी वसन्त र शरद ऋतुमा पर्यटकको आगमन हुन्छ ।

छुटाउनुभयो कि ?