सहर मोहले गाउँको विद्यालयमा विद्यार्थी अभाव


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, ११:३८ मा प्रकाशित

सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका–३ का छ वटा लामा बस्तीबाट रलिङ माध्यमिक विद्यालयमा तीन जना विद्यार्थी मात्रै अध्ययनरत छन् ।
ती बस्तीका अधिकांश विद्यार्थी जिल्ला बाहिरका सहर तथा सदरमुकाम सिमकोटका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेपछि रलिङ माध्यमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको हो ।
विद्यालयका प्रधानाध्यापक छिमी लामाका अनुसार तीन जना लामा समुदायका विद्यार्थी मात्र अहिले रलिङ माविमा अध्ययनरत छन् । ती तीनै जना विद्यार्थी बरगाउँका हुन् ।
उक्त वडामा लाङ्दुक, तोर्पा, बरगाउँ, हुटिक, लिमाटाङ, गुम्बा र टल्की गरी छ वटा लामा बस्ती छन् । तीमध्ये पाँच वटा बस्तीबाट अहिले एक जना पनि विद्यार्थी विद्यालयमा आउँदैनन् । अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई काठमाडौँ, पोखरा, नेपालगञ्ज र सुर्खेतजस्ता सहरमा पढाउन थालेका छन् । केहीले सदरमुकाम सिमकोटका निजी तथा सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।
कुनै समय लामा बस्तीका विद्यार्थीले भरिभराउ हुने रलिङ माविमा अहिले विद्यार्थीको सङ्ख्या तीनमा सीमित भएको प्रधानाध्यापक लामाले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर लामाका अनुसार हाल रलिङ माविमा एक सय ३० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूमध्ये अधिकांश सिमकोट गाउँपालिका–१ र २ अन्तर्गतको ठेहे गाउँका दलित तथा गैरदलित समुदायका विद्यार्थी हुन् ।
ठेहे गाउँका विद्यार्थी नभएको भए विद्यालय नै बन्द हुने अवस्थामा पुग्ने अध्यक्ष लामाले बताउनुभयो । उहाँले छ वटा लामा बस्तीका अभिभावकलाई आफ्ना छोराछोरी गाउँकै विद्यालयमा पढाउन आग्रह गर्दा पनि सकारात्मक जवाफ नपाएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय छोराछोरीलाई सहरमा पढाउने होड चलेको छ भने गाउँमा विद्यार्थीको सङ्ख्या निरन्तर घटिरहेको छ ।
कुनै समय राम्रा विद्यार्थी उत्पादन गर्ने विद्यालयका रूपमा परिचित रलिङ माविको शैक्षिक अवस्था पनि पछिल्लो समय खस्कँदै गएको उहाँको भनाइ छ ।
ती लामा बस्तीमा अहिले अधिकांश ज्येष्ठ नागरिक मात्रै बसोबास गर्छन् । स्थानीय बासिन्दा रोजगारी, शिक्षा तथा अन्य सुविधाको खोजीमा सहर केन्द्रित हुन थालेपछि गाउँहरू क्रमशः सुनसान बन्दै गएका छन् । पहिले ती बस्ती एउटै गाउँ विकास समितिमा समेटिएका थिए । सङ्घीयता कार्यान्वयनपछि ती बस्ती एउटै वडामा समेटिएका हुन् ।

छुटाउनुभयो कि ?