दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री डा. तिमिल्सिनाको


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १६:३६ मा प्रकाशित

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिनुभएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा उहाँले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारीबाट कुनै पनि पक्ष पन्छिन नमिल्ने बताउनुभयो।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म दूरसञ्चार क्षेत्रको ध्यान सेवा विस्तार र पहुँचमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गर्नुभयो। राजधानी काठमाडौँमै नियमित टेलिफोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्नु गम्भीर विषय भएको उहाँको भनाइ थियो।
सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएर नागरिकलाई डिजिटल माध्यममा जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि गुणस्तरीय इन्टरनेट र दूरसञ्चार सेवा अनिवार्य भएको बताउनुभयो। गुणस्तरीय सेवा विलासिता नभई नागरिकको न्यूनतम आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो।
सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता दिन नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अनुमतिपत्र तथा सम्झौतामा गरिएका प्रतिबद्धताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। गुणस्तरीय सेवा प्रदान गरेर मात्रै व्यवसायबाट नाफा कमाउनुपर्ने उहाँको भनाइ थियो।
उहाँले सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति विकास गर्नुपर्ने बताउँदै गल्ती गर्नेले त्यसको जिम्मेवारी लिनुपर्ने र कारबाहीको भागीदार हुनुपर्ने उल्लेख गर्नुभयो। अनुरोध र पत्राचारले मात्र सुधार सम्भव नहुने भन्दै उहाँले कानुनी अधिकार प्रयोग गरेर प्रभावकारी नियमन गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो।
कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नु नियामक निकायको अधिकार मात्र नभई दायित्वसमेत भएको उहाँले बताउनुभयो। सेवा प्रदायकले कानुनविपरीत काम गर्दा कारबाहीमा पर्ने अवस्था सुनिश्चित हुनुपर्ने उहाँको भनाइ थियो।
अनुमतिपत्र लिँदा गरिएका प्रतिबद्धता र सर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कानुन र नियामकको निर्देशनलाई चुनौती दिएर बजारमा चलखेल गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभयो।
उहाँले दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नभएको बताउनुभयो।
सरकार कुनै एउटा कम्पनीको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उहाँले समग्र दूरसञ्चार क्षेत्रको सुधार, स्वच्छ व्यावसायिक वातावरण र उपभोक्ताको हित सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो। सेवा प्रदायकले पहिले आफ्ना कानुनी तथा व्यावसायिक दायित्व पूरा गर्नुपर्ने र त्यसपछि नियामक निकायले कमजोरी तथा कानुन उल्लङ्घनका घटनामा प्रभावकारी कारबाही गर्नुपर्ने उहाँको धारणा थियो।

छुटाउनुभयो कि ?