स्थ्य बीमा कार्यक्रमको दायरा विस्तार गर्न लागिएको छ । बीमाको सेवा प्रवाहमा सुधार र वित्तीय दिगोपन सुनिश्चित गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने मन्त्रालयको तयारी छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग थप छलफल गर्नुभएको छ । यसअघि पनि मन्त्रालयले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी ऐन संशोधनका लागि आवश्यक सुझाव र प्रस्ताव सङ्कलन गर्दै आएको थियो ।
प्रस्तावित संशोधनले स्वास्थ्य बीमा कार्यक्रममा योगदान सङ्कलन र उपचार सेवा प्रदान गरेबापत स्वास्थ्य संस्थालाई गरिने भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ । सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई समेत बीमाको दायरामा समेट्ने विषयलाई संशोधनको प्राथमिकतामा राखिएको छ ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा बीमामा योगदान गर्न नसक्ने नागरिकको उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था प्रस्तावित संशोधनको महत्त्वपूर्ण पक्षका रूपमा समेटिएको छ । आर्थिक अभावकै कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले राज्यको दायित्व स्पष्ट पार्न खोजिएको छ ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायत विभिन्न निकायबाट उपलब्ध गराइँदै आएका स्वास्थ्य उपचार सुविधाबिच समन्वय र एकीकरण गर्ने प्रस्ताव पनि अघि सारिएको छ । यसबाट एउटै प्रकृतिका सुविधा दोहोरिने अवस्था अन्त्य गर्नुका साथै नागरिकलाई स्वास्थ्य उपचार सुविधा प्राप्त गर्न सहज हुने छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार, बीमितले प्राप्त गर्ने सेवा थप सहज बनाउने तथा उपचारका क्रममा हुने अनावश्यक परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयलाई पनि विधेयकमा समावेश गरिएको छ ।
पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय व्यवस्थापन, स्वास्थ्य संस्थालाई भुक्तानी र सेवा प्रवाहको प्रभावकारितालाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला मन्त्रालयले कानुनी सुधारलाई प्राथमिकता दिएको हो ।
मन्त्री मेहताले स्वास्थ्य बीमालाई उपचार खर्चको व्यवस्थापन गर्ने कार्यक्रमका रूपमा मात्र नभई नागरिकको समग्र स्वास्थ्य सुरक्षासँग जोडिएको सामाजिक सुरक्षाको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
प्रस्तावित कानुनी सुधार कार्यान्वयनमा आए स्वास्थ्य बीमाको पहुँच विस्तार हुनुका साथै योगदान सङ्कलन, सेवा खरिद, भुक्तानी र उपचार प्रणालीमा सुधार आउने छ । सरकारले स्वास्थ्य उपचारमा नागरिकको व्यक्तिगत खर्च घटाउने र सबै नागरिकलाई स्वास्थ्य सुरक्षाको दायरामा ल्याउने लक्ष्यसहित ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो ।











