सुरु हुँदैछ क्रसिङ सिजन, उखु किसानले पाएनन् बक्यौता


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १६:२७ मा प्रकाशित

उखु क्रसिङको नयाँ सिजन सुरु हुन लाग्दा समेत पश्चिम नवलपरासीका किसानहरूले गत वर्षको पुरानो बक्यौता रकम पाएका छैनन्। दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको चिनी मिललाई उखु बुझाएको लामो समय बितिसक्दा पनि भुक्तानी नपाएपछि किसानहरू आर्थिक सङ्कटमा परेका छन्।
नयाँ सिजनका लागि खेतमा उखु काट्ने बेला भइसक्दा पनि पुरानो हिसाब चुक्ता नहुँदा घरखर्च, बालबच्चाको पढाइ, औषधोपचार तथा साहु र बैंकको ऋणको ब्याज कसरी तिर्ने भन्ने पिरलोले किसानलाई सताएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले चिनी उद्योगहरूले लामो समयदेखि किसानको बक्यौता रकम रोकेर अन्याय गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार इन्दिरा सुगर मिल र लुम्बिनी चिनी उद्योगले समयमै भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। पश्चिम नवलपरासीको प्रतापपुरस्थित इन्दिरा सुगर मिलले विगत वर्षदेखि किसानको करिब सात करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । मिल विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द छ भने सञ्चालक राकेश अग्रवाल किसानको रकम नदिइ सम्पर्कविहीन छन्।
सञ्चालक अग्रवालविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उता, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले भने किसानलाई दिनुपर्ने बाँकी रकम क्रसिङ सिजन सुरु हुनुअगावै भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाएको छ। उद्योगको बक्यौता रकम उल्लेख्य रूपमा घट्दै गएको र अब करिब ७५ लाख रुपियाँ मात्र तिर्न बाँकी रहेको उद्योग प्रशासनले जनाएको छ।
उद्योगको कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार आर्थिक वर्ष २०७९–८० को करिब ७५ लाख मात्र भुक्तानी हुन बाँकी छ । “किसानको बाँकी बक्यौता रकम यस वर्षको मिल सञ्चालन (क्रसिङ) हुनुभन्दा अगावै पूर्ण रूपमा भुक्तानी गरिसक्ने गरी उद्योगले तयारी गरिरहेको छ, पुरानो रकम चुक्ता गरेर मात्र मिल सञ्चालनमा ल्याउनेछौँ” कार्यकारी अधिकृत आचार्यले भन्नुभयो ।
माटोमा पसिना बगाएर उब्जाएको ‘नगदे बाली’ अहिले पश्चिम नवलपरासीको किसानका लागि ‘उधारो बाली’ बनेको छ। जिल्ला प्रशासनदेखि काठमाडौँको माइतीघर मण्डलसम्म आन्दोलन गर्दा पनि राज्यले ठोस कदम नचालेको किसानहरूको गुनासो छ। फरार मिल सञ्चालकको सम्पत्ति लिलाम गरेर भए पनि पसिनाको मूल्य दिलाउन किसानहरूले सरकारसँग माग गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मुख्यतया चारवटा चिनी उद्योग रहेका छन् । तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द छन् । वागमती र लुम्बिनी चिनी उद्योग मात्र आंशिक तथा मौसमी रूपमा सञ्चालनमा आउने गरेका छन्।
भुक्तानीको झन्झट, उद्योगीको ढिलासुस्ती र लागत नउठ्ने समस्याका कारण यहाँका किसानहरू पछिल्लो समय केरा, तरकारी तथा अन्य वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने यस जिल्लामा अहिले उत्पादन घटेर वार्षिक करिब १५ देखि १८ लाख क्विन्टलमा सीमित भएको छ । उखु उत्पादनमा भारी गिरावट आएपछि सञ्चालनमा रहेका उद्योगलाई समेत कच्चा पदार्थको अभाव हुन थालेको छ ।

छुटाउनुभयो कि ?