प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वको १५ सदस्यीय टोलीले कोरला नाकाको पूर्वाधार निर्माणको अवस्थाबारेमा जानकारी लिदैं । नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापना गदै अन्तर्राष्ट्रिय नाका बनाउन अर्थ मन्त्रालयले सम्भाव्यता अध्ययन गरेपनि कार्यान्वयन नभएको मुस्ताङका जनप्रतिनिधिले गुनासो गरेका छन् ।
कोरला नाकामा आवश्यक संरचना बनाउन अध्ययन गरी गत आर्थिक बर्ष २०८२–८३ मा सरकारलाई प्रतिवेदन हस्तान्तरण गरे पनि थप काम अगाडि बढ्न नसकेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा आएको १५ सदस्यीय टोलीसमक्ष गुनासो गरिएको छ ।
बुधबार कोरला नाका, मुस्ताङ भन्सार कार्यालयको भौतिक अवस्थाका बारेमा स्थलगत अनुगमनका लागि आउनुभएका पूर्वाधार विकास समितिका सभापति गजुरेलसहितको विज्ञ टोलीलाई लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनुर्वु गुरुङले कोरला नाकामा पूर्वाधार विस्तार नहुदाँ नेपाललाई बर्षेनी खरबौंको क्षती भएको भन्दै तत्काल अन्तर्राष्ट्रिय नाका घोषणा गरी पूर्वाधार, जनशक्ती थप गर्नुपर्ने बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो,‘‘पूर्वाधार नहुँदा आर्थिक गतिविधि खुम्चिएको छ, यहाँ पर्याप्त पूर्वाधारसँगै अब नाकालाई पर्यटनसँग समेत जोड्नुपर्छ।’’
सोही अवसरमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले मुस्ताङीलाई सिमापारी गएर ब्यापार ब्यवसाय गर्न सहज भएपनि नाकालाई चीनसँग जोड्ने प्रमुख नाका बनाउन पूर्वाधार अनिवार्य आवश्यक रहेको बताउनुभएको थियो ।
बाह्रै महिना नाका सञ्चालनका लागि चीन सरकारले चासो देखाउँदा पूर्वाधार अभावका कारण नेपालले धेरै अवसरहरु गुमाइरहेको स्थानीय जनप्रतिनिधिको भनाई थियो । गाउँपालिका अध्यक्ष विष्टले भन्नुभयो,‘‘हामीले पटक–पटक नाकामा पूर्वाधार मागेका छौ, नेपालको अर्थतन्त्रलाई कोरलाले योगदान दिन सक्ने धेरै अवसरहरू प्रयोगमा ध्यान पुगेको छैन, यसअगाडी धेरै आश्वासन पाएपनि परिणाममा देख्न पाएका छैनौ ।’’
ओजा इन्जिनियरिङ प्रालिले गरेको सम्भाव्यता अध्ययनमा कोरला नाकाको दशगजा क्षेत्र र छोसेरस्थित नेचुङ भन्सारमा संरचना बनाउन उपयुक्त रहेको प्रतिवदेनमा उल्लेख छ । कोरला नाकाको दशगजा क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा नेपालको सीमापार व्यवसायमा समेत असर गरेको छ ।
कोरला नाका आर्थिक, धार्मिक तथा पर्यटनका दृष्टिकोणले कोरला नाका र नेचुङ क्षेत्रमा पर्याप्त पूर्वाधारको आवश्यकता छ ।
जाडोयामको करिब तीन महिना तापक्रम ऋणात्मक हुदाँ कोरला नाकाबाट करिब १४ किलोमिटर तल भन्सार कार्यालयसम्म सवारीसाधन आवतजावतमा समस्या हुने भएपनि अन्य समयमा नाका क्षेत्र भन्सारसहित सरकारी यूनिट राख्न सम्भव रहेकाले पूर्वाधार बनाउन पहल गरिने टोलीमा रहनुभएका कास्कीका प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले बताउनुभयो ।
समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट करिब १४ किलोमिटर तल छोसेरमा मुस्ताङ भन्सार कार्यालयसहित सुरक्षा निकायको अस्थायी संरचना रहेको छ ।
कोरला नाकामा मुस्ताङ भन्सार कार्यालयको स्वामित्वमा रहेको एक हजार रोपनी क्षेत्रफलमा ६० भन्दा बढी स्थानीयको अस्थायी संरचनामा ब्यवसाय गरेका छन् ।
कोरला नाकामा चिनियाँ विद्युतीय सवारीसाधनसहित आयात गरिएका सामान राख्न मिल्ने गोदाम घर र नेपाल सरकारका प्रतिनिधिको नियमित उपस्थिति हुने तापक्रम अनुसारको संरचना बनाउन सुरु गरेमा स्थानीयको ब्यापार गर्ने स्थान परिवर्तन गर्न सकिने स्थानीय जनप्रतिनिधिको भनाई छ ।
कोरला नाकालाई अवैध गतिविधि रोक्न अन्तरदेशीय बैठक, सीमा सुरक्षासहित विभिन्न कार्य गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले बताउनुभयो ।
कोरला नाकामा भौतिक संरचना, -याड, चालक तथा ब्यापारका लागि आवश्यक पर्ने पूर्वाधार, खानेपानी तथा पक्की शैचालय, नियमित विद्युतसहित गुणस्तरीय इन्टरनेटका बारेमा धेरै गुनासो आएकाले काठमाण्डौ फर्किएपछि समितिमार्फत तत्काल पहल गर्ने सभापति गजुरेलले बताउनुभयो ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो । चीनसँग जोडिएका अन्य नाका बन्द अवस्थामा रहेकाले कोरला नाकामा ब्यापारको चाप बढेको छ ।
चालु आर्थिक वर्ष २०८३-८४ को साउनदेखि कात्तिकसम्म चार महिनामा मुस्ताङ भन्सार कार्यालयबाट ३० अर्ब ३८ करोड ६१ लाख रुपियाँभन्दा बढीको मालवस्तु आयात तथा निर्यात भएको छ ।











