तस्करी नियन्त्रणमा सक्रिय सशस्त्र प्रहरी


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १२:२३ मा प्रकाशित

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर क्षेत्रमा अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सञ्चालन गरेको अभियान प्रभावकारी देखिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर ९ गतेसम्म सशस्त्र प्रहरीले १६ लाख ५३ हजार २५० रुपियाँ बराबरका अवैध सामान तथा चौपाया बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी र विशेष परिचालनलाई तीव्र बनाएपछि अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिमाथि कारबाही बढाएको हो ।
गुल्मले सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा तीन हजार ५६० किलो स्याउ अर्थात् १७८ कार्टुन, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीको बियाँ, जुत्ता, चप्पललगायतका सामान तथा चौपाया बरामद गरेको छ ।
सूर्योदय नगरपालिकाअन्तर्गत मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका र खोलागोदाम क्षेत्रबाट ती सामान बरामद गरिएको हो । सीमा सुरक्षा गुल्म पशुपतिनगर तथा मातहतका बिओपी मानेभञ्ज्याङ र बिओपी छब्बिसेका संयुक्त टोलीले विभिन्न समयमा कारबाही सञ्चालन गरेका थिए ।
भारतसँगको खुला सीमाका कारण पशुपतिनगर क्षेत्रमा भन्सार छली गरी सामान भित्र्याउने तथा अवैध रूपमा निकासी गर्ने गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि चुनौतीपूर्ण रहँदै आएको छ । सीमावर्ती क्षेत्रका विभिन्न आवागमन मार्ग प्रयोग गरेर हुने अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले सम्भावित नाका र ओसारपसारका मार्गमा निगरानी बढाएको छ ।
सीमा सुरक्षा गुल्म पशुपतिनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाको नेतृत्वमा सीमा क्षेत्रमा सुरक्षा परिचालनलाई थप सक्रिय बनाइएको छ । उहाँले मातहतका बिओपीसँग समन्वय गर्दै नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी र सूचनाका आधारमा कारबाहीलाई प्राथमिकता दिँदै आउनुभएको छ ।
गुल्म र मातहतका टोलीबीचको समन्वय, सीमा क्षेत्रमा निरन्तर सुरक्षा उपस्थिति तथा अवैध ओसारपसार हुने सम्भावित स्थानमा केन्द्रित निगरानीले बरामदको परिणाममा योगदान पुर्‍याएको छ । एउटै क्षेत्रमा मात्र नभई विभिन्न सीमा इलाका र आवागमन मार्गमा एकसाथ निगरानी बढाउँदा अवैध कारोबार नियन्त्रणको दायरा विस्तार भएको छ ।
सीमा क्षेत्रमा हुने चोरी पैठारी, भन्सार छली र अवैध निकासी नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले आगामी दिनमा पनि नियमित गस्ती तथा निगरानीलाई निरन्तरता दिने जनाएको छ ।

छुटाउनुभयो कि ?