महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ ।
भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई आग्रह गर्नुभयो ।
उहाँले बालबालिकाको विकास र संरक्षण जन्मपश्चात् मात्र नभई गर्भावस्थादेखि नै सुरु हुनुपर्ने उल्लेख गर्दै विकास साझेदारका कार्यक्रमहरू गर्भावस्थादेखि बालबालिकाको समग्र विकास र संरक्षणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री बादीले वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउँदै त्यसमा युनिसेफको सहयोग र साझेदारी आवश्यक रहेको बताउनुभयो ।
भेटमा युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार तथा बाल हिंसा न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न युनिसेफ इच्छुक रहेको बताउनुभयो ।
उहाँले समुदायस्तरमा सामाजिक जनशक्तिको क्षमता विकास तथा बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा युनिसेफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटघाटमा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकुङ्गा र बाल संरक्षण प्रमुख लियोन मुओनीलगायत प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति थियो ।











