साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १२:०८ मा प्रकाशित

अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, धनगढी अन्तर्गत रहनेगरी डोटी, अछाम र बाजुरा जिल्ला कार्यक्षेत्र रहने डिभिजन कार्यालयको उद्घाटन गरिएको हो।
नेपाल सरकार मन्त्रीपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णयअनुसार साँफेबगरमा डिभिजन कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख इन्जिनियर सोहिन्दर यादवले जानकारी दिनुभयो।
यादवले क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो। वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक, पुल र झोलुङ्गे पुल निर्माण एवं स्तरोन्नति गर्ने योजनाहरु सञ्चालन हुने बताउनुभयो।
नयाँ कार्यालय स्थापनासँगै ३ जिल्लामा पूर्वाधार विकाससम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वयमा सहजता हुने अपेक्षा गरिएको छ। यसअघि सुदूरपश्चिमका ९ जिल्ला हेर्नेगरी धनगढीबाट योजनाहरु कार्यन्वयन हुने गर्दथे।
कार्यालयको उद्घाटन गर्नुहुँदै अछाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य भरतकुमार स्वारले कार्यालय स्थापना भएपछि सङ्घीय सरकारका योजनाहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले पूर्वाधार विकासका योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा समन्वयमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । आफूले यस कार्यालयका लागि चाहिने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बिगतमा काम गर्न धनगढी जानुपर्ने अवस्थाको अन्त्य भई घर आँगनमै कार्यालय स्थापना भएकोमा विकास निर्माणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी टिकाराम ढकालले अछाम जिल्ला सडक खनिए पनि स्तरउन्नति हुन नसकेको बताउनुभयो ।उहाँले सडक खन्नु नभइ खनिएका सडकलाई स्तरउन्नतिमा कार्यालयको ध्यान जानुपर्ने बताउनुभयो।

छुटाउनुभयो कि ?