धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
आज विहान सुपप्र ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–४ का २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँदको दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते चालकलाई उपचारका लागि अत्तरिया अस्पताल लगिएको थियो। सामान्य उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
दुर्घटनाको कारण खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











