दोलखाको गौरीशङ्कर गाउँपालिकाबाट दुई दिनदेखि हराइरहेकी एक वृद्धा खोलामा मृत फेला पर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गौरीशङ्कर गाउँपालिका–३, डाँडाखर्ककी करिब ६५ वर्षीया लकुमा शेर्पा मृत फेला पर्नुभएको हो ।
मङ्सिर ६ गते साँझ करिब ५ बजे घरबाट निस्किनुभएकी शेर्पा सम्पर्कविहीन भएपछि उहाँको खोजी भइरहेको थियो । खोजतलासका क्रममा मङ्सिर ८ गते बिहान करिब ११ बजे घरदेखि करिब १० किलोमिटर पश्चिममा पर्ने गौरीशङ्कर गाउँपालिका–४, किस्पानस्थित साँघुखोलाको पानीमा डुबेको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोट पठाएको थियो । मङ्सिर ९ गते पोस्टमार्टमपछि शव आफन्तले बुझिलगेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











