दसैँ–तिहारमा दस लाख रुपियाँको झिनियाँ बिक्री


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १२:१८ मा प्रकाशित

नेवारी समुदायका शुभकार्यमा अनिवार्यजस्तै मानिने झिनियाँ पछिल्लो समय दसैँ–तिहारको लोकप्रिय परिकार बनेको छ । दसैँमा पाहुनालाई खुवाउने र तिहारमा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने प्रचलनसँगै पाल्पामा झिनियाँको व्यावसायिक उत्पादन बढ्दै गएको छ ।
रामपुर नगरपालिका–५ का रुद्रनारायण श्रेष्ठले यस वर्ष दसैँ र तिहारमा मात्रै १० लाख रुपियाँभन्दा बढीको झिनियाँ बिक्री गर्नुभएको छ । विगत १४ वर्षदेखि झिनियाँ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले यस वर्ष बजारको माग र अनुकूल मौसमका कारण कारोबार बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “माग पनि धेरै भयो र मौसमले पनि साथ दियो । विगतमा पाँचदेखि छ लाख रुपियाँसम्मको झिनियाँ बिक्री हुन्थ्यो । यस वर्ष दसैँ–तिहारको सिजनमा १० हजार दर्जनभन्दा बढी झिनियाँ बिक्री गरेँ ।”
श्रेष्ठका अनुसार पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका साथै चितवन र बुटवलसम्म झिनियाँ बिक्री हुने गरेको छ । उहाँले प्रतिदर्जन थोक मूल्य ९० रुपियाँ र खुद्रा मूल्य १०० रुपियाँमा झिनियाँ बिक्री गर्दै आउनुभएको छ । बजारमा माग बढे पनि सोहीअनुसार उत्पादन गर्न नसकिएको उहाँले बताउनुभयो ।
श्रेष्ठले दसैँ–तिहारमा मात्र नभई वर्षायाम र जाडोयामबाहेक अन्य समयमा पनि झिनियाँ उत्पादन गर्दै आउनुभएको छ । उहाँले परिवारका सदस्यबाहेक थप सात जनालाई रोजगारीसमेत दिनुभएको छ ।
झिनियाँ उत्पादनका लागि घाम आवश्यक पर्ने भएकाले मौसमले उत्पादनमा प्रभाव पार्ने श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “झिनियाँ सुकाउन घाम चाहिन्छ । तयार पारेको झिनियाँ एक दिनभित्र सुकाउन सकिएन भने बिग्रिन्छ । विशेषगरी चैत, वैशाख, जेठ, असोज र कात्तिक महिनामा उत्पादन गर्छु ।”
जिल्लाको रामपुर, तानसेन, निस्दीको गल्धा, रम्भा, माथागढी, रिब्दीकोट र बगनासकालीलगायतका स्थानीय तहका उद्यमीले पनि झिनियाँ उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

छुटाउनुभयो कि ?