नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ ।
मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले संयुक्त सैनिक अभ्यासको शुभारम्भ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
दुवै देशका गणस्तरका सैनिक फौज सहभागी हुने उक्त अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ ।
संयुक्त अभ्यासका क्रममा नेपाली र भारतीय सैनिकले विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा अनुभव र सीप आदानप्रदान गर्नेछन् । अभ्यासमा सैनिकहरूले सम्बन्धित विषयमा सैद्धान्तिक तथा व्यावहारिक तालिम लिनुका साथै विशेष अनुभवसमेत साटासाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल र भारतबिच सन् २०१० (विसं २०६७) देखि प्रत्येक वर्ष पालैपालो दुवै देशमा सञ्चालन हुँदै आएको ‘अभ्यास–सूर्यकिरण’ को यो २०औँ संस्करण हो । यसअघि यसको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।
नेपाली सेनाका अनुसार संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबिच सदियौँदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाबिच आपसी विश्वास, समझदारी र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, संयुक्त तालिमले दुवै देशका सैनिकको व्यावसायिक दक्षता र युद्धकला विकास गर्नुका साथै विपद्का समयमा संयुक्त रूपमा परिचालित भई प्रभावकारी प्रतिकार्य गर्न सक्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।











