पाँच वर्षदेखि सडक अलपत्र


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, ११:२७ मा प्रकाशित

पर्यटकीय स्थल कृष्णसार संरक्षण क्षेत्र जाने सडक विगत पाँच वर्षदेखि निर्माण अलपत्र परेको छ । संरक्षण क्षेत्रको मुख्य प्र्रवेशद्वार खैरापुरदेखि कृष्णसार संरक्षण क्षेत्रसम्म पुग्ने सडक निर्माण नगरी निर्माण कम्पनीले अलपत्र पारेको हो ।
२०७८ पुसमा सडक निर्माणका लागि सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र परेको हो । ठेकेदारले सडकमा गिट्टी बिच्छ्याएर छोडेको हुनाले आवतजावत गर्न समस्या भएको स्थानीयले बताएका छन्  । गुलरिया नगरपालिका–२, पटाहाका टेकबहादुर खत्रीले गिट्टी बिच्छ्याएर अलपत्र गरेर छोडेकोले आवातजावत गर्न निकै समस्या भएको बताउनुभयो । सो सडकमा संरक्षण क्षेत्र जाने पर्यटक, स्थानीय र विद्यार्थी आवतजावत गर्छन् ।
सडक निर्माणका लागि पटक पटक अनुरोध गर्दा पनि निर्माण नगरेर दुःख दिइरहेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टङ्कप्रसाद अधिकारीले बताउनुभयो । सडक निर्माण गर्ने निर्माण सम्झौता भएको पाँच वर्षसम्म पनि निर्माण नगरी अलपत्र सडक पारेको उहाँले गुनासो गर्नुभयो । अहिले ठेकेदार सम्पर्कमा समेत आउन छोडेको गुनासो गर्दै उहाँले काम गराउने र गर्ने निकाय अरू भए पनि स्थानीयको दोष वडा कार्यालयले खेप्नु परेको गुनासो गर्नुभयो ।
पाँच सय मिटर लामो र छ चौडाइ सडक निर्माणका लागि भट्टराई कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो । एक करोड ३३ लाख ४० हजार रुपियाँमा सडक कालोपत्रेलगायत नाली निर्माण गर्ने गरी सम्झौता भएको थियो । एक वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म तेस्रो पटक म्याद थप गरिएको छ । यो अवधिसम्म ८० प्रतिशत काम सकिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर विजय खनालले बताउनुभयो । सार्वजनिक खरिद ऐनको १५ औँ संशोधनबाट आगामी पुस मसान्तसम्मको लागि म्याद थप गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी विवेकबहादुर सिंहले बताउनुभयो ।

छुटाउनुभयो कि ?