नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा नेपाली सेनाले अङ्ग्रेज सेनालाई धुलो चटाएर पछाडि हट्न बाध्य बनाई आफ्नो किल्ला सुरक्षित गर्न सफलता प्राप्त गरेको किल्ला हो, जितगढी । त्योबेला जितगढी रहेको बुटवलकै विषयलाई लिएर नेपाल र अङ्ग्रेजबीच विवाद उत्पन्न भएको थियो । विवाद परेको अर्को भूभाग थियो, स्युराज ।
नेपाल र अङ्ग्रेजबीच सीमा विवाद भइरहेका बेला बुटवल क्षेत्रसमेत हेर्ने गरी मुख्तियार जनरल भीमसेन थापाका बुबा जनरल अमरसिंह थापा (साना) पाल्पाका प्रशासक थिए । पाल्पाको प्रशासन चलाइरहेका बेला अमरसिंहको विसं १८७१ कात्तिक ७ गते देहान्त भयो । त्यसपछि उनका नाति कर्णेल उजिरसिंह थापालाई काठमाडौँबाट त्यहाँको प्रशासन चलाउन पाल्पा पठाइयो । उजिरसिंह अमरसिंहका माहिला छोरा नयनसिंहका जेठा छोरा हुन् । नयनसिंहले काँगडाको युद्धमा ज्यान गुमाएका थिए ।
बुटवल र स्युराजको विवाद समाधान गर्न धेरै प्रयास भए पनि सफलता मिलेन । त्यसपछि विसं १८७१ कात्तिक १८ गते लखनउबाट कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरे । पूर्वमा मोरङदेखि पश्चिममा हण्डुरसम्म दखल गर्ने अभिप्राय उनको थियो । त्यसबेला नेपालले १२ हजारभन्दा बढी फौज बटुल्न सकेको थिएन । अङ्ग्रेजसँग भने पाँच भागमा बाँडिएका ३४ हजार सैनिक थिए (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १–वैशाख २०२१:४८) ।
विसं १८७१ पुसको सुरुतिर मार्लेको नेतृत्वमा अङ्ग्रेज सेनाको टोली नेपालको सिमानाभित्र घुस्यो । उनीहरूले पर्सागढी, समनपुरगढी र रतुवामा कब्जा जमाए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ८४–२०५० वैशाख : २२) । पुस १ गते सेनापति टी उड बुटवलतर्फ बढे । गजराज मिश्रले पत्रमार्फत यसबारे मुख्तियार जनरल भीमसेन थापालाई जानकारी गराए । नेपाली फौजका अधिकारी रणवीरसिंह थापा मकवानपुर पुगेको दिन अङ्ग्रेजले बारागढीमा दखल गरेको थियो । पुस २ गते मध्यरातमा वीरकेशर पाँडेले पर्सागढीमा र सर्वजित थापाले समनपुरगढीमा एक्कासि आक्रमण गरिदिए । बिहानसम्मको युद्धमा उनीहरूले शत्रु सैन्यदललाई परास्त गरिदिए । पुस ३ गतेको यो युद्धमा नेपाली सेनाले सैन्य अधिकारीसहित शत्रु सेनाका १२३ जनालाई मार्नुका साथै तोप, बन्दुकहरू कब्जामा लिएका थिए । नेपालले ५९ जनाको क्षति बेहोर्नु पर्यो ।
समनपुरमा भने नेपाली पक्षको कमै क्षति भयो । पर्साको युद्धमा बहादुरी देखाएकाले सरदार शमशेर रानाले कप्तानी पाए । पर्सा र समनपुरको अप्रत्याशित हारले भयभीत भएर रतुवा र बारागढीबाट अङ्ग्रेज सैन्यदल फिर्ता भयो । सेनापति मार्ले दिक्दार भई आफ्ना सैनिक नेपालको सीमाबाट पार गराएर बेतियातर्फ गए (आचार्य, २०५०:२३) ।
एक हजार दुई सयजति मानिस बटुलेर पाल्पामा कर्णेल उजिरसिंह थापा चनाखो भएर बसेका थिए । उनले आफ्नो फौजलाई पुग्नेसम्म बन्दुक र बन्दुक नपुग्नेलाई धनुकाँड दिई काजमा लगाउने हो कि भनी राजा गीर्वाणयुद्धविक्रमसमक्ष सोधनी पठाए । राजा, मुख्तियार जनरल भीमसेन थापा र उनका मुख्य सहायक रणध्वज थापाले उजिरसिंहलाई “कुइर्याले हात छोडेपछि मैदानमा गई छाती थापन्या काम नगर्नू वैरी छली उसको मुलुक लुट्ने पोल्ने र झार जङ्गलमा उसलाई अप्ठ्यारोमा पारी हान्ने काम गर्नु ।” भन्ने आदेश दिए । यसबाट त्यसबेला नेपाली सेनाको शत्रुउपर झुक्याउने र हान्ने रणनीति थियो भन्ने देखिन्छ ।
जनरल उडसँग भने धेरै सैनिक र तोप आदि हतियार थिए । उनीसँग चार हजार पाँच सय फौजका साथ छ पाउन्ड गोला खाने चारवटा र तीन पाउन्ड गोला खाने तीनवटा तोप, तीनवटा चार इन्च मोर्टार र दुईवटा ४४ इन्च हाउविट्सर थियो । यस्तै पछि १८ पाउन्डको गोला खाने दुईवटा तोप थपिए भने छ पाउन्ड गोला खाने तोप थपेर आठवटा बनाइए (मैनाली, २०८१:७४) । जनरल उड यति शक्तिसम्पन्न भई गोरखपुरबाट आएर सिमानामा बसी पुस २० गते बुटवल पसे ।
उनी जङ्गल पार गरी २२ गते मुख्य बुटवलमा आइपुगे । नेपाली सैन्यदल तैनाथ रहेको महाभारतको दक्षिण फेदीमा जितगढी र नुवाकोट (तेस्रो) गढी थिए । कर्णेल उजिरसिंह थापा यी दुई गढीका बीचको उकालोमा अनेक आड बनाई नुवाकोट गढीमा शत्रुलाई पर्खेर बसेका थिए । त्यसै दिन साँझ पाँच सय सैनिक लिएर अङ्ग्रेज मेजर केमिन जितगढी पछाडि पुगे । गढीभित्र पाँच सय नेपाली सैनिक लिएर सरदार बलिभञ्जन पाँडे बसेका थिए । उनले शत्रुउपर आक्रमण गरी पछि हट्दै गढीको आडसम्म ल्याए (आचार्य, २०५०:२३) । जब बन्दुकको आवाज आयो आफ्नामातहतका दुई हजार सैनिक लिएर कर्णेल उजिरसिंह थापा झरे । त्यसै समय दुई हजार एक सय सैनिक लिएर आएका जनरल उडले आफ्ना सैनिक अगाडि बढाए । नेपाली र अङ्ग्रेज सैन्यदल ५० गज जतिको आमनेसामनेमा थिए ।
नेपाली सैन्य टोलीले शत्रुमाथि गोली बर्साउन सुरु गरे । एक घण्टाको युद्धमा नेपाली टोलीले पाँच जना अफिसरसहित १२८ शत्रु सैनिकलाई मारे । त्यसपछि जनरल उड आफ्ना सैनिकलाई युद्ध मैदानबाट फिर्ता लैजान बाध्य भए । उनले नुवाकोटगढीमा कति नेपाली सैनिक छन् भन्ने अडकल काट्न सकेका थिएनन् । यता कुम्भेदान जयसुर थापासहित ७० जना नेपाली सैनिकको पनि मृत्यु भयो । यस युद्धमा अङ्ग्रेजलाई सघाउन पाल्पाका पूर्वमन्त्री कनकनिधि तिवारी पनि आफ्ना छोराका साथ अगुवा भएर आएका थिए । उनलाई जङ्गलमा भेट्टाएर नेपाली सैनिकले मारिदिए (आचार्य, २०५०:२४) ।
यो युद्धमा आफूहरू झुक्किएर हार्नु परेकोबारे जनरल उडले सन् १८१५ जनवरी ४ (विसं १८७१ पुस २२ गते) लेफ्टिनेन्ट कर्णेल फागनलाई लेखेको पत्र लेखक मोहन मैनालीले सार्वजनिक गरेका छन् । उडले पत्रमा लेखेका छन् “…बहादुर तथा शान्त अफिसर क्याप्टेन क्रुकरले नेतृत्व गरेको टोलीले वैरीका चिफ सुरज थापालाई मारेर आफ्नो सामुन्नेको वैरीलाई पहाडमाथि धपायो तर रुखले छेलिएर बसेका हठी वैरीले लगातार गोली बर्साइरहे । गढीभन्दा पछाडिको पहाडभर वैरीको फौज ओइरियो । गढी हामीले कब्जा गरेको भए पनि त्यसलाई थेग्न नसकिने गरी उनीहरू आए । त्यसैले बिनाअर्थ सिपाहीको जीवन खेर नजाओस् भनेर मैले मेरो फौजलाई युद्ध मैदानबाट पछाडि हटाउने फैसला गरेँ । … हाम्रा सामान बोकेका अधिकांश भरियाले आफूले बोकेका भारी फालिदिँदा हाम्रो फौजमा केही अलमल भयो तर युरोपेली र भारतीय सैनिकले खजानाका अधिकांश भारी बोकेर ल्याए ।”
यदि बुटवल क्षेत्र विजय भएको भए अङ्ग्रेजका लागि यसले दूरगामी महत्व राख्थ्यो । युद्ध हुनुभन्दा चार महिनाअघि नै अङ्ग्रेज अफिसर जिएच फागनले जनरल उडलाई सन् १८१४ सेप्टेम्बर २३ (विसं १९७१ असोज ९ गते) लेखेको पत्रले पनि उनीहरूको योजनालाई स्पष्ट पार्छ । उनीहरूको योजनाअनुसार बुटवल आक्रमणपछि नुवाकोट (पल्लो) चढेर तानसेन पुगी त्यहाँको नेपाली पोस्ट कब्जा गरेपछि रिडीघाट पनि कब्जा गर्ने थियो ।
पाल्पा र रिडीघाट कब्जा गरेपछि राजधानी र त्यसभन्दा पश्चिमको नेपाल राज्यबीचको सम्पर्कविच्छेद हुन्थ्यो । त्यसो गर्दा नेपालको शक्ति ह्वात्तै घट्ने आशा अङ्ग्रेजले गरेका थिए । बरु बुटवलमा भएको क्षतिले उसको सान र मनोबल पनि घट्यो (मैनाली, २०८१:८३) ।
नेपाली फौजको छापामार शैलीको रणनीतिले हतियार र फौजको सङ्ख्याका हिसाबले आफूभन्दा कैयौँ गुणा शक्तिशाली वैरीलाई पराजित गर्न नेपाली फौज सफल भएको थियो । यो युद्धमा १९ वर्षीय कर्णेल उजिरसिंह थापाले सैन्य नेतृत्व गरेका थिए । नेपाली सेनाले मध्य क्षेत्रमा अङ्ग्रेजको योजना तहसनहस बनाइदिएका थिए ।
जितगढीको युद्धमा कुम्भेदान जयसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहरा, जमदार जसिवन्त शाही, जमादार बुद्धिबल राना, रणसुर बानियाँ, हंशवीर अधिकारी, नकुल बानियाँ, जुठे बस्नेत आदिले बहादुरीपूर्वक लडेका थिए ।
अङ्ग्रेजको दोस्रो हार
अङ्ग्रेजलाई हराएपछि केही समय कर्णेल उजिरसिंह थापा नुवाकोटगढी बसेर पाल्पा फर्के । उनी नुवाकोटबाट पाल्पा फर्केको खबर अङ्ग्रेज जनरल उडले पाएपछि फेरि उत्साहसाथ बुटवल आक्रमणको तयारीमा लागे । उनी पहिलो हारको बदला लिन चाहन्थे ।
‘नेपालको सैनिक इतिहास’ मा उल्लेख गरिए अनुसार अप्रिल ६ (विसं १८७२ चैत २६ गते) उनी दलबलसहित लोटन आइपुगे । तिनाउ नदीको पूर्वी किनारैकिनार उत्तरतर्फ बढ्दै उनको फौज पारिपट्टिको खस्यौली बजार आइपुग्यो तर बीचमा तिनाउ नदी बगेकाले उनीहरूले सहजै त्यसलाई तर्न सकेनन् । जनरल उडसँग १८ पाउन्ड गोला खाने तोप, चार वटा मोर्टारका साथ २४ कम्पनी फौज र दुई सय घोडचढी पनि थिए । अब तिनाउ नदीको वारिपारि दुवै सेनाका टोली आमनेसामने थिए । सुरुमा अङ्ग्रेजतर्फबाट तोप प्रहार भयो । नेपालीले पनि तोप प्रहारबाटै जवाफ फर्काए । त्यसपछि नेपाली फौजका तर्फबाट कुनै जवाफ आएन । उनीहरूले नेपाली सकिए भन्ठाने । अङ्ग्रेजले प्रहार गरेको तोपले बुटवल दरबार ध्वस्त भयो ।
दरबार ध्वस्त पारिसकेपछि कुनै अवरोधको सम्भावना नदेखिएपछि जनरल उडले आफ्ना फौजलाई तिनाउ नदी पार गरी सहर पस्ने आदेश दिए । रेकी दलका फौजले नदी आधा मात्र के पार गरेका थिए जितगढीबाट गोली वर्षा भयो । अङ्ग्रेजका एक/दुई जना तत्कालै ढले । बाँकी भागाभाग गर्दै फर्के । त्यसपछि जनरल उडले सानो बस्ती कब्जा गर्न धेरै खर्च गर्नु उपयुक्त ठानेनन् । मनसुन पनि सुरु भएकाले औलोको डर पनि थियो । त्यसैले बेफ्वाँकमा ज्यान गुमाउनुभन्दा फर्कनु उपयुक्त ठानेर उनले आफ्ना फौजलाई फिर्ता बोलाए ।
थोरै बलले धेरै बल भएका शत्रु पक्षलाई पराजित गर्दै उनीहरूको मनोबल घटाउन सक्नु त्योबेला नेपाली फौजको निकै राम्रो रणनीति थियो । नेपाली फौजले एक कदम बढ्दै दुई कदम हट्दै फेरि उनीहरूको प्रत्याक्रमण गर्दा शत्रु पक्ष झुक्किएका थिए । यसरी झुक्याउँदै हान्दै गर्ने रणनीतिअनुसार जितगढीमा नेपाली फौजले ठुलो सफलता हासिल गर्यो । कर्णेल उजिरसिंह थापा एक कुशल रणनीतिक सैन्य नायक हठरिए ।











