जनता समाजवादी पार्टी जसपा नेपालले सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै निजी सञ्चारमाध्यमहरू लोकतन्त्रका महत्वपूर्ण स्तम्भ भएको उल्लेख गरेका छन्। उनले यस्तो निर्णयले सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्य बोकेको भन्दै प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको टिप्पणी गरेका छन्।विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु स्वतन्त्र पत्रकारितालाई नियन्त्रणमा राख्ने प्रयास हो, जुन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ।” साथै, जसपा नेपालले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमैत्री नीति अवलम्बन गर्न माग गरेको छ। पार्टीले आर्थिक संकट झेलिरहेका निजी सञ्चारमाध्यममाथि यस्तो निर्णयले थप दबाब सिर्जना गर्ने उल्लेख गर्दै यसप्रति गम्भीर असहमति जनाएको छ। विज्ञप्तिमा थप भनिएको छ कि यस निर्णयले निजी सञ्चारमाध्यम बन्द हुने, श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने र प्रेस सेन्सरशिपको अवस्था सिर्जना हुने खतरा रहेको छ। साथै, आवाजविहीनको आवाजका रूपमा स्थापित स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर पर्ने जसपा नेपालको ठहर छ।












