कैलालीमा मेयरका छोराको ठगी ‘कनेक्सन’ :अर्कैको क्यूआरमा यसरी माग्थे पैँसा


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० बैशाख २०८३, १२:२५ मा प्रकाशित

धनगढी । अनलाइन गेम खेलाउने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने प्रकरणमा कैलालीका एक मेयरका छोराको पनि ‘कनेक्सन’ देखिएको छ। ठगी प्रकरणमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका छोरा प्रशान्त भट्टको ‘कनेक्सन’ देखिने प्रमाण फेला परेको छ। काठमाडौँमा बस्दै आएका प्रशान्तले अनलाइन गेम खेलाउने कार्य गर्दै चिनजानका व्यक्तिको बैंक खाताको क्यूआर प्रयोग गरेर रकम माग्ने र अरुकै खातामा हाल्ने गरेको पाइएको छ। ठगी गरेको आरोपमा कञ्चनपुर प्रहरीले कैलालीको सुखडबाट गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाट पक्राउ परेपछि यस्तो कुरा खुलेको हो। प्रहरी स्रोतका अनुसार प्रशान्त भट्टले भाटलाई वाट्सएपमा दिल्लीराज भट्ट नाम गरेका व्यक्तिको कुमारी बैंकको क्यूआर पठाउँदै एक लाख ५८ हजार रुपैयाँ पठाउन भनेका थिए। प्रहरी स्रोतकाअनुसार भाट स्वयंले यो कुरा प्रहरीसँगको बयानमा खुलाएका छन्। उनले साथीभाईलाई समेत भट्टले यस्तो धन्दा गर्ने गरेको थाहा नपाएको तर साथीको हिसाबले रकम खातामा पठाएको बताउँदै आएका थिए। सोही रकमबाट एक लाख ५८ हजार उनले पठाएको क्यूआरमा हालिदिएको भाटले बयान दिएका छन्। उनले प्रहरीमा उजुरी परेपछि केही व्यक्तिसँगको फोन संवादमा आफ्नो क्यूआर मेयरका छोराले मागेको बताएका छन् । पक्राउ पर्नुअघि पैँसा फिर्ता गर्न पनि पटक पटक ताकेता गरेको बताएका थिए । भाटले त्यसपछि उक्त रकम पठाएका थिए। त्यसअघि उनै भट्टले अर्कै व्यक्तिको खाताबाट भाटको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको स्रोतको दाबी छ। सोही रकमबाट एक लाख ५८ हजार रुपैयाँ भट्टले पठाएको क्यूआरमा पठाइएको थियो। यसरी ठगी वापतको रकम मगाउन भट्ट स्वयंले नै अत्तरियाकै केही व्यापारी र युवाहरूको बैंक खाताको क्यूआरमार्फत मगाउने गर्थे। भट्टकै योजनाअनुसार अनलाइन ठगी गर्ने गिरोह कैलालीदेखि काठमाडौँसम्म सक्रिय रहेको बताइन्छ। केही वर्षदेखि यस्तो धन्दा गर्दै आएका उनले ठगी वापत राम्रै आर्थिक उपलब्धि हासिल गरेको दाबी गरिएको छ। अनलाइन गेम खेलेपछि लाखौँ रकम जितेको भन्दै उनै भट्टले कञ्चनपुरको वेदकोटकी सरस्वती भट्टलाई कर तिरेपछि पैसा पाइने भन्दै दुई लाख ४० हजार रुपैयाँ मागेका थिए। तर, क्यूआर भने भाटको प्रयोग गरेका थिए। तर जितेको भनिएको पैसा प्राप्त नभएपछि सरस्वतीले ठगीमा परेको थाहा पाइन्। त्यो रकम उनले भाटको खातामा पठाएकी थिइन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिए पनि लामो समयसम्म प्रहरीले चासो देखाएको थिएन। राजनीतिक दबाबमा परेको प्रहरीले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानासम्म कुरा पुगेपछि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि भाट पक्राउ परेका थिए। ठगीमा परेकी महिलाले भाट र रकम ट्रान्सफर गरिएका अर्का एक व्यक्तिविरुद्ध पनि उजुरी दिएकी थिइन्। तर ओझा थरका ती व्यक्ति भने अझै पक्राउ परेका छैनन्। भाटमाथि भने अदालतबाट १० दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ। कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले अनलाइन ठगीको घटनाको अनुसन्धान जारी रहेको बताए। उनले ठगीमा संलग्नता देखिने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए। अनलाइनमार्फत ठगी गर्ने गिरोह चलाउने आरोप लागेका मेयरका छोरा प्रशान्तसँग यस विषयमा प्रतिक्रिया लिन प्रेसपत्रले सम्पर्क गरेको थियो। पहिलो पटक मोबाइल स्विच अफ थियो। दोस्रो पटक फोन लागे पनि उनले उठाएनन्।

छुटाउनुभयो कि ?