दार्चुला — गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका सभापति तथा उम्मेदवार राजेश सिंह सामन्त आइतबार ब्याँस गाउँपालिका–२ राप्लाको माल क्षेत्रमा पुग्नुभएको छ। निर्वाचनपछि स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न तथा सुझाव संकलन गर्ने उद्देश्यले सभापति सामन्तसहितको टोली आइतबार विजयी उम्मेदवारभन्दा अघि राप्लामा पुगेको हो। सामन्तले राप्लाको माल र तल्लो दुम्लिङका स्थानीयहरुसँग भेटघाट गरी धन्यवाद ज्ञापन गर्नुका साथै स्थानीयका सुझाव संकलन गर्नुभएको छ। सोमबार ब्याँस गाउँपालिकाका अन्य स्थानमा पनि भेटघाट गर्दै मतदातालाई धन्यवाद दिने र सुझाव संकलन गर्ने कार्यक्रम रहेको रास्वपा दार्चुलाका जिल्ला कार्यसमिति सदस्य रामसिंह बिष्टले जानकारी दिनुभयो। गत सोमबार बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचनपछि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन तथा सुझाव संकलन गर्ने र जिल्लाभर तीन चरणमा ‘जनता भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार रास्वपा दार्चुला पुनः जनता भेटघाट कार्यक्रममा जुटेको हो। यसअघि गत मंगलबार पनि उम्मेदवार सामन्तले चुनाव बहिष्कार गरिएको नौगाड गाउँपालिका–१ नागु क्षेत्रका मतदातासँग भेटघाट गरी सुझाव संकलन गरिसकेको रास्वपा दार्चुलाले जनाएको छ। निर्वाचनमा पराजित भएपनि रास्वपा उम्मेदवार राजेश सिंह सामन्त भने निर्वाचनपछि सबैभन्दा पहिले विकट क्षेत्रका नागरिकसम्म पुगेर जनतासँग काम माग्ने नेता बन्न सफल भएको पार्टीले जनाएको छ। जनतासँगको भेटघाटका क्रममा सामन्तले पराजयपछि पनि जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै आफूले चुनाव हारे पनि लोकतन्त्रको जित भएको बताउनुभयो। उहाँले अब जिल्लाका लागि काम गरेर देखाउने समय आएको भन्दै जनतासामु काम गरेर देखाउने प्रतिबद्धता दोहोर्याउनुभयो दार्चुलाको इतिहासमा निर्वाचनमा पराजित भएपछि पुनः जनतामाझ पुगेर धन्यवाद ज्ञापन तथा सुझाव संकलन गर्ने परिपाटीको थालनी गर्ने सामन्त पहिलो नेता भएको स्थानीयले बताएका छन्। सभापति सामन्तसँगै टोलीमा जिल्ला समिति सदस्य रामसिंह बिष्ट, ब्याँस गाउँपालिका सभापति अशोक सिंह कुँवर, वडा नम्बर २ का वडा सभापति धनसिंह धामी, स्थानीय नेता–कार्यकर्ता महेन्द्र सिंह बुढाथोकी, गोपाल बिष्ट, दिपक बुढाथोकी लगायतको सहभागिता रहेको थियो।












