संरचना विस्तार, स्वास्थ्य सेवा कमजोर – सुदूरपश्चिमका स्वास्थ्य सूचकाङ्क लक्ष्यभन्दा पछाडि


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ७ मंसिर २०८३, १५:३९ मा प्रकाशित

धनगढी । स्वास्थ्य संस्थाको भौतिक संरचना विस्तार हुँदै गए पनि सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा अपेक्षित सुधार हुन सकेको छैन । दक्ष जनशक्ति, बजेट र प्रविधिको अभावसँगै स्वास्थ्य बिमा, मातृशिशु स्वास्थ्य र मानसिक स्वास्थ्यका सूचकाङ्क कमजोर देखिएका छन् ।
स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक वर्ष २०८२र८३ को वार्षिक समीक्षा प्रतिवेदनअनुसार प्रदेशमा ५९ अस्पताल, १३ प्राथमिक स्वास्थ्य केन्द्र, ३७१ स्वास्थ्य चौकी र २८३ आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । तर स्वास्थ्य सेवाका अधिकांश सूचक प्रथम पञ्चवर्षीय योजनाको लक्ष्यभन्दा पछाडि छन् ।
प्रदेशमा स्वास्थ्य उपचारमा नागरिकले आफ्नै खल्तीबाट बेहोर्नुपर्ने खर्च ५४ प्रतिशत पुगेको छ । स्वास्थ्य बिमा सेवाप्रदायक संस्था पनि सुदूरपश्चिममा ३७ वटा मात्रै छन् ।
जटिल रोगको उपचारका लागि विपन्न नागरिक सिफारिस लिने दुई हजार ३५७ जनामध्ये एक हजार १६० जना अर्थात् ४९।२ प्रतिशत क्यान्सरका बिरामी छन् । यस्तै ५३४ जना मुटु र ४१६ जना मिर्गौला रोगबाट पीडित छन् ।
बालबालिकामा पुड्कोपना २४ र ख्याउटेपना १६ प्रतिशत कायम छ । पूर्ण खोप पाउने दर ७५ प्रतिशत मात्रै छ भने नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
मानसिक स्वास्थ्यको अवस्था पनि चिन्ताजनक छ । तीन आर्थिक वर्षमा प्रदेशभर एक हजार ५४८ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये कैलालीमा मात्रै ४९।५ प्रतिशत घटना भएका छन् ।
आकस्मिक सेवातर्फ प्रदेशका २१० एम्बुलेन्समध्ये १४१ वटामा मात्रै जिपिएस जडान गरिएको छ । स्वास्थ्य क्षेत्रको कुल वित्तीय प्रगति पनि ४५।९ प्रतिशतमा सीमित छ ।
प्रतिवेदनले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन दक्ष जनशक्ति व्यवस्थापन, स्वास्थ्य बिमाको विस्तार, निःशुल्क औषधीको नियमित उपलब्धता र बजेट कार्यान्वयनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । भौतिक संरचना विस्तारसँगै सेवा प्रवाहको गुणस्तर सुधार चुनौतीका रूपमा देखिएको छ ।

छुटाउनुभयो कि ?