बैतडी — बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–४ स्थित प्रसिद्ध मठैराज मन्दिरमा चोरी भएको छ। सोमबार रातिको समयमा अज्ञात समूहले मन्दिरमा प्रवेश गरी गर्भगृहको ढोका फोडेर चोरी गरेको स्थानीयले बताएका छन्।
स्थानीय महेशराज पन्तका अनुसार मन्दिरको गर्भगृहमा जबरजस्ती प्रवेश गरेर चोरी गरिएको हो। हालसम्म मन्दिरबाट के–कति सामग्री चोरी भएको हो भन्ने यकिन भइसकेको छैन। गर्भगृहमा पूजारी मात्र प्रवेश गर्ने परम्परा रहेकाले पूजारी आएपछि मात्र वास्तविक क्षतिको विवरण खुल्ने बताइएको छ।
घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मन्दिरको गर्भगृहमा सुनचाँदी लगायतका बहुमूल्य सामग्री रहने भएकाले ती वस्तु चोरी भएको आशंका गरिएको छ।
स्थानीयवासीका अनुसार मन्दिर नजिकै रहेका मदिरा पसल र परिसरमै हुने मदिरा सेवनका गतिविधिले यस्ता आपराधिक घटनालाई बढावा दिइरहेको छ। यसप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको उनीहरूको भनाइ छ।












