धनगढी, २५ फागुन / सुदूरपश्चिममा दिगो वन ब्यवस्थापन कार्यविधि बनाउन ढिलाइ हुँदा आम वन अधिकारकर्मी र उपभोक्ता मारमा परेका छन् । आर्थिक बर्ष २०७६/०७७ मा वैज्ञानिक वन ब्यवस्थापनमा गएका वनहरु वैज्ञानिक वन ब्यवस्थापन खारेज भए पछि सञ्चिप्त वन ब्यवस्थापन कार्ययोजना बनाएर काठ कटान छपान गरी रहेका थिए । सञ्चिप्त वन ब्यवस्थापन कार्ययोजना, दिगो वन ब्यवस्थापन कार्यविधि नबन्दा सम्म लागु हुने प्रवाधान रहे पनि अहिले सुदूरपश्चिम सरकारले उक्त कार्ययोजनाका आधारमा ढलापडा काठ संकलन गर्न नपाउने भने पछि समस्या भएको भारताल साझेदारी वन समितिका अध्यक्ष तथा साझेदारी वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव यादव भण्डारीले जानकारी दिनु भयो । सुदूरपश्चिम सरकारले आफ्नो अर्कमण्यताको भारी आफुहरुलाई बोकाएको भण्डारीले गुनासो गर्दै भने ,” दिगो वन ब्यवस्थापन कार्यविधि बनाउनका लागि प्रदेश सरकारलाई पटक पटक खबरदारी गरे पनि अहिले सम्म कुनै पनि कार्ययोजना बन्न सकेको छैन् “। अब सञ्चिप्त वन कार्ययोजनाको आधारमै ढलापडा काठ संकलन गर्न पाउनु पर्ने माग सहित आफुहरु वन मन्त्रालय सम्म आएको गौरीगंगा वन उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर ऐरले सुदूरपत्रसँग भने ।













