धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन । चुनावअघि भव्य एकता घोषणा गर्दै ९ वटै जिल्लामा जनलहर आएको दाबी गरेको यो पार्टीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिटमा जित्न नसकेको हो । तामझामका साथ जनताको मत जित्न होमिएको भनिए पनि नतिजा शून्य आएपछि यो समीकरण असफल देखिएको छ । पार्टीको सबैभन्दा ठुलो भरोसा अछाम क्षेत्र नम्बर १ मा थियो । त्यहाँ नेता भीमबहादुर रावल उम्मेदवार थिए । जित्ने आस गरिएका रावल १० हजार २ सय ३३ मतमा सीमित हुँदै पराजित भए । त्यस्तै, अछाम क्षेत्र नम्बर २ मा बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्न सके । बझाङ जिल्लामा मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत ल्याए भने बाजुरामा प्रकाशबहादुर शाह ३ हजार ३ सय १ मतमा खुम्चिए । कैलाली र कञ्चनपुरजस्ता तराईका जिल्लाहरूमा पनि नेकपाका चर्चित अनुहारहरू पराजित भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेतृ विना मगरले ११ हजार १ सय १० मत ल्याइन् भने कैलाली क्षेत्र नम्बर ३ मा वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे पनि तर दुवैले जित निकाल्न सकेनन् । कैलाली क्षेत्र नम्बर ५ मा प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मतमा सीमित भए । कैलालीका पाँच वटा क्षेत्रहरू १ मा रामलाल डगौरा थारुले ८ हजार ३ सय ९२, क्षेत्र नम्बर २ मा नन्दबहादुर साउँदले ४ हजार ३६९ र क्षेत्र नम्बर ४ मा हरिराम चौधरीले ५ हजार ६ सय ९ मत प्राप्त गरे । यस्तै क्षेत्र नम्बर ५ मा प्रेम आलेले ७ हजार ८ सय ७६ मत ल्याउँदै पराजित भए । यसै गरी, कञ्चनपुर क्षेत्र नम्बर २ मा माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याए । यस्तै क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए । क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए । सुदूरपश्चिमका पहाडी जिल्ला डोटीमा प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट ५ हजार ४१३ मतमा समेटिए भने डडेलधुरामा मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरे । दार्चुलामा लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत र बैतडीमा परमानन्द भट्टले ६ हजार ९ य ६५ मत ल्याए । यसरी सुदूरपश्चिममा एक सिट पनि जित्न नसके पनि पार्टीका नेताहरूले हरेस नखाने र अझ सशक्त रूपमा जनताको सेवक भएर काम गर्ने प्रतिक्रिया दिएका छन् । शनिवार नेता भीम रावलले चुनाव हारे पनि सडकबाटै जनताको आवाज बोल्ने बताएका थिए । उनले हारबाट अझै पार्टीलाई अगाडी बढाउन बलियो भएर लाग्ने घोषणा गरेका थिए ।












