हेल्लो संवाददाता
कञ्चनपुर, १० जेठ
महाकाली नदीमा पुलको काम सकिएको भएपनि सडकसहित अन्य संरचना निर्माणको काम ९५ प्रतिशत पूरा भएको छ ।
महाकाली पारीको दोधारा-चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुलको काम सकिएको हो ।
३४ वटा पिल्लर र ३२ वटा सल्यापसहितको पुलको काम सकिए पनि योजनाको ५ प्रतिशत काम बाँकी रहेको छ । कालोपत्रसहितको पुल कुमार सिएफइसी जेभीले निर्माण सकेको हो ।
महाकाली पुलको दुवैतर्फ सात दशमलव ६ किलोमिटर पहुँच मार्ग निर्माण गर्ने ठेक्का गरिएको थियो । एक दशमलव २ किलोमिटर पहुँचमार्ग निर्माणको काम मात्र बाँकी रहेको योजना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तका अनुसार खड्डाचौकी भन्सार कार्यालय क्षेत्रमा सडक निर्माणको स्वीकृती आएपछि काम सुरु भएको छ । ६ दशमलव ४ किलोमिटर पहुँचमार्ग निर्माणको काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।
सडक किनारमा निर्माण गर्नुपर्ने नाली निर्माणको काम सकिएको छ । महाकाली पुल योजनाको समग्र कार्यमा ९५ प्रतिशत प्रगति भएको महाकाली पुल योजना कार्यालयले बताएको छ ।
भीमदत्त नगरपालिका-१३ ओदाली र महाकाली नगरपालिका-१ चाँदनीलाई जोड्नेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । आठ सय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्ने गरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो। पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रूपमा समेत विकसित गरिने गरी पुलको डिजाइन छ ।
पुलको उत्तर पट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि सुन्य दशमलव ३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिदैछ । उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रूपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ ।
महाकाली पुल योजना कार्यालयका लागि चालु आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजन गरिएको थियो । आठ करोड खर्च भएको छैन । चालु आर्थिक वर्षमा थप ३२ करोड बजेट आवश्यक हुने योजना कार्यालयले बताएको छ। योजनाको पूणर् आर्थिक प्रगति ९० प्रतिशत पूरा भएको छ ।












