पुख्यौंली पेशाले धानेको जीवन


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० जेष्ठ २०८१, १०:५९ मा प्रकाशित

यमुना साउद
धनगढी, १० जेठ /
धनगढीको चर्चित चौराह । जुन चौराहबाट भारत, कञ्चनपुरको दक्षिणी क्षेत्र, पूर्वपश्चिम राजमार्गको पश्चिम सिमानाका कञ्चनपुर तथा अन्य प्रदेश जाने सवारी र भिमदत्त राजमार्ग जाने यात्रुहरु छुट्ने ट्रापिक चौराह ।
सधैजसो व्यस्त देखिने धनगढी–अत्तरिया ६ लेन सडक खण्डको त्यही चौराहको पूर्वतर्फ सडक पेटीमा पुराना जुत्ताचप्पल सिउने मोची भेटिन्छन् । उखरमाउलो गर्मी होस् या पुषको कठ्याङ्ग्रीदो जाडो सडककका पेटीमा पुराना जुत्ता चप्पल सिउनमै व्यस्त देखिन्छन् । त्यही भिडमा भेटिन्छन् धनगढीको बिशालनगरका ३९ वर्षीय रमेशबहादुर रोकाया । रमेश पनि पुराना, च्याटिएका जुत्ताचप्पल मर्मत गर्नमै व्यस्त देखिन्छन् ।
बुवाले गर्दै आएको कामलाई निरन्तरता दिएको रमेशको भनाई छ । आर्थिक अभावका कारण पढ्न नपाएका रमेशले सानै उमेरदेखि बुवाले गर्दै आएको पेशा अंगाल्न बाध्य भए । ‘पेशा सुरु गर्दा म ७ वर्षको थिए । बिहान ६ बजे साईकलमा निस्कन्थे । बेलुका सात बजे घर पर्कन्छु’ रमेशले भने, ‘बिहान चिया पिएर आउथे । दिउसोको खाना खाने ठेगान हुदैन । दिनभर पानी पिएर काम गर्छु ।’ उनले यो अवस्था सानै देखि भोग्दै आएको बताए ।
‘उपभोग्य सामाग्रीको मूल्य आकाशिएको छ । तर, हाम्रा त्यस्तै छन्’ रमेशले भने, ‘मिहेनत, संघर्ष र थकानलले विश्राम लिने छाटकाट छैन ।’
रमेशले भने, ‘युग आधुनिक छ । हाम्रो काम गर्ने शैली पुरानै छ ।’ ‘टन्टलापुर गर्मीमा बसेर काम गर्नुपर्छ । न त घाम भन्न मिल्छ न त धुवाधुलो न त भोकप्यास न त थकान लाग्यौं भन्न मिल्छ’ रमेशले भने, ‘परिवार पाल्नुछ । परिवारको दुई छाक जोहो गर्नुछ ।’ कमाई थोरै छ खर्च बढी हुन्छ रमेशले भने ।
त्यही बसेर जुत्ता चप्पल मर्मत गर्ने २६ वर्षीय सुनिल सार्कीको कथा पनि उस्तै छ । आर्थिक अभावका कारण पढ्न नपाएको बताउने सुनिलले बुवाले गर्ने गरेको काम हेरेर सिकेको बताए । उनले दैनिक पाँच सयदेखि आठ सयसम्म कमाई हुने गरेपनि त्यसले दैनिक जोहो गर्न समस्या भएको बताए । ‘घाममा बसेर काम गर्छौं तर कतिपय ग्राहकले काम अनुसारको दाम दिदैनन्’ सुनिलले भने, ‘श्रमअनुसार पैसा नदिदा मन खिन्न हुन्छ ।’
‘सटरमा पसल खोलेर बस्ने रहछ छ । तर, यसका लागि श्रोत र साधन छैन’ सुनिलले भने, ‘के गर्नु घामपानी, हावाहुरी, धुलो धूवा सहेर बस्न बाध्य छु ।’ उनले जसोतसो गरेर ११ जनाको परिवार पालिरहेको बताए ।
सडक पेटीमा बसेर परिवारको दैनिकी जोहो गरीरहेका सबैको एउटै गुनासो छ । हामी सबैको आर्थिक अवस्था नाजुक छ । स्थानीय सरकारले उचित व्यवस्थापन गर्नेतर्फ चासो दिदैन । फोहोर कर बाफत उपमहानगरले मासिक २५ रुपैयाँ उठाउने गरेको छ । पेटीमा सामान राखे बाफत एक सय रुपैयाँ दिन भन्छ तर, हामीले दिएका छैनौ ।
उनीहरु भन्छन्, ‘सरकार कर मात्र खोज्छ । हाम्रो जीविकोपार्जन सहज बनाउन केही गर्दैन । सरकारले सडक पेटीमा बसेर जुत्ता, चप्पल सिउनेको सीपलाई सम्मान नगरेको उनीहरुको गुनासो छ ।
सिकेका सिपलाई व्यवस्थापन, संरक्षण, प्रवद्र्धन गर्न सके स्थानीयस्तरका धेरै युवाहरूले रोजगारी पाउने उनीहरुको भनाई छ ।

छुटाउनुभयो कि ?