चुरेका युवा गणेश देउवाले आमाहरूलाई सेनेटरी प्याड वितरण गर्दै जन्म दिन मनाए


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २७ जेष्ठ २०८३, १४:५९ मा प्रकाशित

धनगढी,२७ जेठ / अधिकांश मानिसका लागि जन्मदिन खुसी साट्ने, केक काट्ने र रमाइलो गर्ने अवसर हुन्छ। तर बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले भने आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्व र सेवासँग जोड्दै आएका छन्। यस वर्ष पनि उनले जन्मदिनको अवसर पारेर चुरे गाउँपालिकाका विभिन्न वडाका आमा तथा महिलाहरूलाई सेनेटरी प्याड वितरण गरेका छन्।
महिलाको स्वास्थ्य, सुरक्षित महिनावारी, व्यक्तिगत सरसफाइ तथा महिनावारीका नाममा समाजमा विद्यमान छुवाछुत र विभेद अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको देउवाले बताए। उनका अनुसार महिलाको स्वास्थ्य र सम्मानसँग जोडिएको विषयमा सचेतना अभिवृद्धि गर्न सानो प्रयासस्वरूप यो अभियान सञ्चालन गरिएको हो।
समाजसेवा र जनहितका कार्यलाई प्राथमिकतामा राख्दै आएका देउवाले जन्मदिनलाई व्यक्तिगत उत्सवभन्दा पनि आफूलाई जन्म दिने बुवा–आमाको त्याग, माया र संघर्ष स्मरण गर्ने अवसरका रूपमा लिने गरेका छन्। यही सोचका साथ उनले हरेक वर्ष आफ्नो जन्मदिनलाई फरक सामाजिक अभियानसँग जोड्ने गरेका छन्।
“चुरे बन्नुपर्छ र चुरे बनाउनु पर्छ” भन्ने सोचका साथ सक्रिय देउवा चुरेको विकास, संरक्षण र समृद्धिलाई स्थानीय नागरिकको भविष्यसँग जोडेर हेर्छन्। उनी प्रत्येक अवसरलाई समाज र चुरेको हितसँग जोड्ने प्रयासमा निरन्तर लागिपरेका छन्।
उनको जन्मदिन मनाउने शैली हरेक वर्ष फरक हुने गरेको छ। विगतमा उनले दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने, वातावरण संरक्षणका लागि डस्टबिन सहयोग गर्ने तथा आश्रममा रहेका असहाय, ज्येष्ठ नागरिक र आश्रितहरूलाई खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने जस्ता सामाजिक कार्य गर्दै आएका छन्।
देउवाका लागि जन्मदिन खर्च गर्ने दिनभन्दा पनि समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने अवसर बनेको छ। यस वर्ष चुरे गाउँपालिकाका ६ वटै वडाका आमाहरूलाई सेनेटरी प्याड वितरण गर्दै उनले महिला स्वास्थ्य र सम्मानको विषयलाई प्राथमिकतामा राखेका छन्।
बुवा-आमाबाट प्राप्त संस्कार, चुरेप्रतिको लगाव र समाजप्रतिको उत्तरदायित्वलाई एकै सूत्रमा बाँधेर जन्मदिन मनाउने उनको शैलीले सकारात्मक सन्देश प्रवाह गरेको छ। व्यक्तिगत उत्सवलाई सामाजिक अभियानमा रूपान्तरण गर्ने देउवाको अभ्यासले जन्मदिनलाई केवल खुसीको दिन नभई समाज परिवर्तन र प्रेरणाको माध्यमसमेत बनाउन सकिने सन्देश दिएको छ।

छुटाउनुभयो कि ?