धनगढी, ४ जेठ/
सशस्त्र प्रहरीले कञ्चनपुरबाट भन्सार छलीको तीन सय ६१ बोरा गहुँ नियन्त्रणमा लिएको छ । गहुँसंगै ठूलो मात्रामा भन्सार छलीको सामान समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिका–३, वनपूर्वाबाट सात लाख २८ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
भन्सार छली गरेर नेपाल ल्याइएको तीन सय ६१ बोरा गहुँ, एक सय जोर विद्यालयको पोशाक जुत्ता, ६४ जोर कन्भर्स जुत्ता, १४ जोर फेसन जुत्ता, १० जोर सेल्फी जुत्ता, आठ जोर चप्पल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले बताए ।
बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक खगेन्द्र चन्दले बताए । सामान ढुवानीमा संलग्न भने फरार भएको चन्दले बताए ।












