धनगढी, ४ जेठ/
राष्ट्रिय माध्यमिक विद्यालय सुखडको अतिक्रमण गरे निर्माण गरिएका निजी संरचना खाली गराउने काम सुरु गरिएको छ । विद्यालयको ८ कट्ठा जमिन अतिक्रमण गरेर निर्माण गरिएका निजि संरचना खाली गराउने काम सुरु भएको हो ।
विद्यालयको आग्रहमा घोडाघोडी नगरपालिकाले विद्यालयको नाममा दर्ता जमिनमा निर्माण गरिएका भौतिक संरचना खाली गराउन डोजर चलाएको छ ।
जग्गा खाली गर्न विद्यालयले पटक–पटक सूचना सार्वजनिक गर्दा पनि अटेरी गरेपछि स्थानीय प्रशासनको सहयोगमा शुक्रवारदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको बताइएको छ ।
वडा अध्यक्ष घनश्याम ओझाले सुदूरपश्चिमको एक मात्र विशेष विद्यालय निर्माणका लागि अतिक्रमित संरचनाहरू हटाउन थालिएको बताए । ‘संघीय सरकारबाट योजना आएको छ । विशेष विद्यालय निर्माण गर्न विद्यालयको खातामा रकम थन्किएको छ’ अध्यक्ष ओझाले भने, ‘सो जग्गामा विशेष विद्यालय निर्माण गर्ने योजना छ ।’
विद्यालयमा पाँच वर्षदेखि अलपत्र परेको ९३ करोडको आयोजना निर्माणका लागि निजि घर तथा टहराहरू हटाउन थालिएको बताइएको छ । २०७५ सालमा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागबाट उक्त आयोजना विद्यालयमा परेको बताइएको छ ।
तर, विद्यालयको खातामा दुई करोड ५३ लाख रुपैयाँ जम्मा रहेको भएपनि जग्गा अभावका कारण आयोजना कार्यान्वयनमा गएको छैन ।
२०७५ सालमा दुई वटा छात्रावास भवन, एकेडेमी भवन, एक चमेना गृह, एक फिजियोथेरापी भवन, बगैँचा, खेलमैदान, पर्खालसमेत निर्माणका लागि बजेट आएको छ । ती संरचनाहरू निर्माण गर्न विद्युतीय बोलपत्र गर्न विद्यालयले नगरपालिकालाई पत्राचार गरेको छ । तर, नगरपालिकाले स्टीमेटको काम समेत पूरा गरेको छैन।
राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले फरक क्षमता भएका विद्यार्थीका लागि आयोजना कार्यान्वयन गर्न जग्गा खाली गरिएको बताए । तीन दिनभित्र सबै जग्गा खाली हुने अध्यक्ष हमालले बताए ।
फरक क्षमता भएका सुदूरपश्चिमका दुई सय विद्यार्थीहरूलाई आवाससहितको अध्यापनका लागि भवन निर्माण गरिने अध्यक्ष हमालले बताए ।












