धनगढी, २ जेठ/
स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।
क्यानका कोषाध्यक्ष पदम खड्काले भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँने बताए । ‘हामी सत् प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौ’ उनले भने, ‘क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ ।’
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन ।
‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने । आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।












