धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
प्रदेश सभा सचिवालयले उक्त दिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ। मुख्यमन्त्री सोडारीको विश्वासको मतका लागि बोलाइएको यो तेस्रो पटक हो। उनले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो।
अझै पनि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताएका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत लिन जेठ ५ गतेसम्मको समय छ ।












