अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् । स्कुटर पछाडि उनका पीएसओ बसेका थिए ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन् ।
अनुगमनका लागि उनी ललितपुरस्थित जावलाखेल क्वाटरबाट आफैं स्कुटर चलाएर गएकी थिइन् । स्कुटर पछाडि उनका पीएसओ बसेका थिए । उनले बालाजुको भ्याली कोल्डस्टोर र सीतापाइलाको बुढाथोकी कोल्डस्टोरमा पुगेर अनुगमन गरेको सचिवालय सदस्य सरिता चौधरीले जानकारी दिइन् ।
मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेको उनको सचिवालयले जनाएको छ ।
१ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको थियो । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो ।











