गुल्मीमा चार वर्षमा १५१ शिक्षकले छाडे शिक्षण पेसा


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, ११:३९ मा प्रकाशित

गुल्मीमा शिक्षकहरू शिक्षण पेसामा भन्दा पनि विदेशतर्फ बढी आकर्षित हुने गरेका छन् ।
पछिल्लो समयमा नेपालमै ६० हजार तलव खाँदै आएका शिक्षकलेसमेत शिक्षण पेसा छाडेर विदेशतर्फ आकर्षित हुने गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्वर–६ मा रहेको अमरपुर ओमप्रकाश गौतम माध्यमिक विद्यालयमा माध्यमिक तृतीय तहमा अध्यापन गराउँदै आउनुभएका शिक्षक बालकृष्ण गौतमले राजीनामा दिएर अमेरिका जानुभएको छ ।
उहाँले गत साउन ५ गते शिक्षण पेसाबाट राजीनामा दिएर अमेरिका गएको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।
यस्तै मुसिकोट नगरपालिकाको छत्र आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षक सरस्वता कुँवरले पनि राजीनामा दिएर अमेरिका गएको समन्वय इकाईको तथ्याङ्कमा उल्लेख छ । उहाँहरू प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । गुल्मीमा आर्थिक वर्ष २०७९।०८० देखि हालसम्म १५१ जना शिक्षकले राजीनामा दिएका छन् ।
शिक्षण पेसाबाट राजीनामा दिएकामध्ये धेरैजसो विदेशतिर जाने गरेको देखिएको छ । शिक्षण पेसामा भविष्य नदेखेका कारण धेरै शिक्षकहरूले राजीनामा दिने गरेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेको भनाइ छ ।
शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामा गुल्मीका छ जना शिक्षकको राजीनामा स्वीकृत भएको छ । जसमा तीन जना माध्यमिक तृतीय तह, प्राथमिक तृतीय तहका २ र द्धितीय तहका एक जना रहेका छन् ।
आर्थिक वर्ष २०७९।०८० देखि हालसम्म १५१ जना शिक्षकले राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९।०८० मा प्राथामिक तहमा ३७ जना, निम्न माध्यमिक तहमा एक जना गरी ३८ जनाको राजीनामा स्वीकृत भएको हो । आर्थिक वर्ष २०८०।०८१ मा प्राथामिक तहमा ४६ र निम्न माध्यमिक तहमा छ जना गरी ५२ जनाको राजीनामा स्वीकृत भएको छ ।
आर्थिक वर्ष २०८१।०८२ मा प्राथमिक तहमा २९ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा तीन जना गरी ३४ र आर्थिक वर्ष २०८२।०८३ मा प्राथामिक तहमा १६ जना, निम्न माध्यमिक तहमा तीन जना र माध्यमिक तहमा दुई गरी २१ जनाको राजीनामा स्वीकृत भएको छ ।
यो सँगै आर्थिक वर्ष २०७९।०८० देखि हालसम्म १५१ जनाको राजीनामा स्वीकृत भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख मित्र गौतमका अनुसार गुल्मीमा मात्र नभइ देशभरीको अवस्था सोही किसिमको रहेको पाइएको छ । पछिल्लो समयमा छोराछोरी विदेशमा हुने र बुबाआमालाई पनि उतै लैजाने लहरजस्तै भएको उहाँको भनाइ छ ।
गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव
गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षकको अभाव हुने गरेको छ । गत वर्ष जिल्लाको मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो ।
यसैगरी शिवशङकर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो ।
यस्तै सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उहाँले बताउनुभयो ।
गुल्मीमा सामुदायिक, संस्थागत र प्राविधिक धारतर्फ गरी ५६५ विद्यालय र ५९ हजार ५३० विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी दुई हजार ९२६ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?