धनगढी : नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) यादव ढकालले कैलाली प्रहरीको कमान्ड सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले ६० जना एसपीको सरुवा गर्दा ढकाललाई जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी दिएको हो।
स्रोतका अनुसार अब मंगलबार उनले औपचारिक रुपमा कमाण्ड सम्हाल्ने छन्। ढकालको कैलाली आगमनलाई जिल्लाको शान्ति, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण तथा आसन्न निर्वाचनका दृष्टिले चासोका साथ हेरिएको छ।
२०८० चैतमा डीएसपीबाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ढकाल यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङअन्तर्गत मानवस्रोत व्यवस्थापन महाशाखामा जिम्मेवारीमा थिए। त्यहाँबाट उनको सरुवा कैलाली प्रहरी प्रमुखमा भएको हो।
कैलालीमा झन्डै १५ महिना प्रहरी प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालेका एसपी नरेन्द्र चन्दको सरुवापछि ढकालले उनको स्थान लिँदैछन्। चन्दलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत बैंकिङ कसुर अनुसन्धान शाखा, लाजिम्पाटमा सरुवा गरिएको छ।
भारतसँग खुला सीमा जोडिएको कैलालीमा लागूऔषध कारोबार, तस्करी, आर्थिक अपराध र विभिन्न आपराधिक गतिविधि प्रहरीका प्रमुख चुनौती हुन्। विशेषगरी धनगढी तथा सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्नु नयाँ प्रहरी प्रमुखको मुख्य जिम्मेवारी हुनेछ।
त्यस्तै, अपराध अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी बनाउने, प्रहरी संगठनभित्र अनुशासन कायम गर्ने तथा राजनीतिक र आर्थिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुन नदिने चुनौती पनि ढकालसामु छ।











