अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य तथा दक्षिण एशियाली मामिला विशेष दूत एवम् भारतका लागि राजदूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न गोर बिहान साढे ८ बजे बूढानीलकण्ठ नजिकैको घर पुगेको र आधा घण्टा कुराकानी गरेपछि ९ बजे बाहिरिएको स्रोतले बतायो । उनै गोर हिजो एभरेष्ट बेसक्याम्प पुगेर अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोन उडाएका थिए । उनीसँगै नेपालस्थित कार्यवाहक राजदूत स्कट चार्ज पनि बेसक्याम्प गएका थिए । ड्रोन उडानको स्वीकृति र कार्यक्रमबारे नेपाल सरकारले कुनै जानकारी गराएको छैन । अस्ति साँझ नयाँ दिल्लीबाट छ जनाको टोलीसहित आएर होटल द्वारिकाजमा बसेका गोर हिजो दिउँसो परराष्ट्र र अर्थमन्त्रीसँग भेटेपछि काठमाडौं दरबारस्क्वायर क्षेत्रको अवलोकनमा पुगेका थिए । उनी आज राति नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।












