सशस्त्रकाे खक्रौला गुल्मका डीएसपीमाथि आक्रमण : पक्राउ परेका साउद कारागार चलान, अरू अझै फरार


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३ बैशाख २०८३, १७:२२ मा प्रकाशित

धनगढी । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको गुल्मभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले बिहीबार थुनछेक बहसपछि टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएकाे हाे । साउदलाई अदालतले कारागार चलान गर्न आदेश दिएकाे छ । किटानी जाहेरीपछि फरार अन्यकाे हकमा भने पक्राउ परेपछि निर्णय लिइने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले अदालतकाे आदेशपछि साउदलाई बिहीबार नै कारागार चलान गरिएको बताए । तिमिल्सिनाकाअनुसार डीएसपी पाैडेलले साउदसहितविरुद्ध अपराधिक उपद्रव मुद्दा दिएका थिए । साउदसँगै अन्य पाँच जनाविरुद्ध पनि जाहेरी परेको थियो । फरार टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरी निवासी रशिद आलिखानकाे भने खाेजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीको खक्रौला गुल्मले जिएसटी बिल र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान जफत गरेपछि विवाद भएको थियाे । व्यवसायी पक्षले आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोलीसहित गुल्ममा छलफलका लागि पुगेका बेला डीएसपीसहितमाथि आक्रमण गरिएको थियाे । घटनापछि सशस्त्र प्रहरीले बिल बिजक परीक्षण गर्दा कागजात भेटिएपछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो । घटनाकाे समयमा डिउटीमा खटिएका डीएसपीसहितका सशस्त्र प्रहरीलाई हेटक्वाटर तानेर छानबिन अघि बढाइएकाे थियाे ।

छुटाउनुभयो कि ?