हेल्लो संवाददाता
धनगढी, १६ जेठ
पछिल्लो केहीदिन यता तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने बताइन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै कम गर्मीको सम्भावना रहेको मौसमविद महर्जनले बताइन् ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म जेठ १६ गतेदेखि १८ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।
‘यसअघि जेठ १३ गतेदेखि १५ गतेसम्म पनि हिट वेभको पूर्वानुमान सार्वजनिक गरेका थियौं । त्यसैअनुसार भयो पनि,’ मौसमविद महर्जनले हेल्लो सुदूरसंग भनिन्, ‘अहिले फेरि थप तीन दिन तातो हावाको लहर चल्ने सम्भावना छ ।’
लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको तराई क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नभएकाले गर्मी बढ्ने गरेको छ ।
बंगालको खाडीमा विकसित रेमल चक्रवातको अप्रत्यक्ष असरको कारण नेपालको पूर्वी र मध्य भागमा वर्षा भएको थियो । यो चक्रवातको नेपालको पूर्वी भूभाग भन्दा पनि अझै पूर्व भारतको मेघालय आसपास कमजोर अवस्थामा छ । त्यसको असरले नेपालका कोशी प्रदेशमा सामान्य वर्षाको सम्भावना कायम छ ।











