हेल्लो संवाददाता
धनगढी, १६ जेठ
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमलाई उपेक्षा गरिएको छ ।
सुदूरपश्चिममा केही पुराना योजनाबाहेक नयाँ योजना बजेटमा समावेश गरिएको छैन । संघीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको मुल नहर र त्रिभुवनवस्ती लगायत शाखा नहर विस्तारको कार्य अगाडी बढाइने उल्लेख छ ।
ब्रह्मदेव क्षेत्रको शाखाबाट एक हजार पाँच सय हेक्टर जमिनमा सिँचाई सेवा थप विस्तार गरिने विषय बजेटमा समावेश गरिएको छ । सो आयोजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको हो । रानी–जमरा–कुलरिया सिँचाई आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार तीन सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाई सुविधा उपलब्ध गराइने विषय बजेटमा उल्लेख छ ।
लम्की मुल नहर अन्तर्गत शाखा नहर निर्माण गरिने छ । सो आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य प्रारम्भ गरिने भएको छ । बजेटमा सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने विषय पनि उल्लेख गरिएको छ ।
महाकाली करिडोर र सेती लोकमार्ग स्तरोन्नती गरिनेछ । प्रादेशिक राजधानीमा मौलिक सहर विकास गर्न संभाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ । यसका साथै दोधारा–चाँदनीमा नयाँ नमुना वस्ती निर्माण गरेर आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गरिने लगायतका विषय बजेटमा समावेश गरिएको छ ।
बजेट वक्तव्यमा डडेल्धुरा अस्पताललाई पाँच सय शैया क्षमतामा सञ्चालन गर्ने विषय उल्लेख गरिएको छ । तर, बजेट उल्लेख गरिएको छैन । खेलकुदतर्फ फाप्ला क्रीकेट मैदानको निर्माण गरिने, डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, २१० मेगावाट क्षमताको चैनपुर–सेती जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने, कैलालीमा दोदोधारा–बरेली ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने विषय समेटिएको छ ।
बजेट वक्तव्यमा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाउने, धनगढी विमानस्थल स्तरोन्नति र बैतडीको पाटन विमानस्थललाई निजी क्षेत्रको सहकर्यमा प्याराग्लाइडिङ्ग, प्यारासुट, स्काइ डाइभिङ र अल्ट्रालाइट जस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनको लागि उपयोग गरिने उल्लेख गरिएको छ ।
यसका साथै दैजी–छेला औद्योगिक क्षेत्र र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण प्रारम्भ गरिने विषयमा बजेटमा राखिएको छ ।












