प्यारा ताललाई थप सुन्दर बनाउन सहयोगी हात थपिदै


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ११ जेष्ठ २०८१, १६:५१ मा प्रकाशित

प्रतीक्षा जैशी
कञ्चनपुर, ११ जेठ
प्याराताललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न नागरिक स्तरबाट सुरु गरिएको अभियानमा सहयोगी हात थपिदै गएका छन् ।
आम नागरिकबाट सुरु गरिएको अभियानमा पछिल्लो समय कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर एण्ड केमिकल ईन्डष्ट्रीले सहयोगको हात अगाडि बढाएको छ ।
प्याराताललाई थप सुन्दर बनाउन ईन्डष्ट्रीले जरायोको प्रतिमा बनाउने भएको हो । प्याराताल परिसरमा जरायोको प्रतिमा बनाउने बारे भागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रीका प्रबन्ध निर्देशक लालबहादुर बोगटीसँग सम्झौता भएकोे प्यारा ताल पर्यटन प्रबद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए । एक लाख ३० हजार रुपैयाँमा जरायोको प्रतिमा बनाइने अध्यक्ष बस्नेतले बताए ।
ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गत असार २६ गतेदेखि नागरिक स्तरबाट अभियानको थालनी गरिएको अध्यक्ष बस्नेतले बताए ।
नागरिकस्तरबाटै सहयोग संकलन गरेर ताल परिसरमा सेल्फि स्पट, कछुवा, ओद, माछा, पानीको फोहोराको जग निर्माणको काम सकिएको प्याराताल पर्यटन प्रबद्र्धन तथा संरक्षण समितिका सचिव प्रेमप्रसाद जैशीले बताए । गोही, मयुर र कमलको फूलको प्रतिमा निर्माणको काम चलिरहेको सचिव  जैशीले बताए ।
कञ्चनपुर जिल्लाको दक्षिण–पूर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका–९, बिचफाँटामा अवस्थित ताल भारतको दुधुवा नेशनल पार्कसँग जोडिएको छ ।
५ किलोमिटर लम्बाई र ६० मिटर चौडाइ भएको विविधताले भरिपूर्ण प्यारा ताल सदाबहार जलाशय हो । प्याराताल विश्वमै दुर्लभ जलचर ओद, सुन गोहोरो, गोही, थुप्रै प्रजातिका माछा, कछुवा लगायत जलचर प्राणीहरूको वासस्थान समेत हो ।

छुटाउनुभयो कि ?