पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० जेष्ठ २०८१, १९:४० मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १० जेठ
कैलालीको थारु गाउँमा कुलाही सुरु भएको छ । वर्खा र धानखेती सुरु हुनु अघि हरेक वर्ष गाउँघरमा कुलाही गर्ने गरिन्छ । परम्परादेखि चल्दै आएको कुलाही (जनश्रमदान) अहिलेसम्म पनि गर्ने गरिन्छ ।
कैलाली मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ ।
पछिल्लो दिन कैलालीको कैलारी गाउँपालिका-६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ ।
बेनौलीका २६७ घरधुरीले कुलाही सुरु गरेका हुन् । गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो ।
बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्षात भन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् ।
कुलाहीपछि सिँचाइ कुलोभइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ ।
कैलालीको भजनी नगरपालिका कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए ।
गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ ।
गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउन लगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ ।
तर, ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’
कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता बताए ।
भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न ।
टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’
थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो ।
कैलालीका नागरिक समाजका अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्वपूणर् रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्न मा जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?