धनगढी, १० जेठ
डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन् ।
डोटीको केआईसिंह गाउँपालिका-४, दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन् । उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन् ।
शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन् । उनीहरू क्रमशः १६ र १५ वर्षका भए । उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन् । बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन् ।
विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन् । घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैन । यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए । उनले आफ्ना बुवाबाट यो काम सिकेको हुन् ।
यसरी निगाला तथा बाँसको चोयाबाट बन्ने सामाग्रीबाट हप्तामा आठ सयदेखि एक हजारसम्म आम्दानी हुने गरेको शेरूले बताए ।
उनले डोकाडाला बिक्री गरेर हुने आम्दानीबाट आफूलाई आवश्यक पर्ने किताब, कापी, कलम, झोला तथा विद्यालयको पोशाक खरिद गर्ने गरेको बताए ।












